इनरूवा। आफ्नै एक अनुयायीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उर्फ कृष्णदास ३ लाख धरौटीमा छुट्ने भएका छन्।
सुनसरी चतराका गिरीको मुद्दामा २ दिनसम्म चलेको थुनछेक बहस सकिएपछि सुनसरी जिल्ला अदालतले गिरीलाई धरौटीमा छोड्ने आदेश दिएको हो।
जिल्ला अदालत, सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले उनलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। गिरीको मुद्दामा थुनछेकका लागि न्यायाधीशहरुबीचमा गोला हानिएपछि मुद्दा मुख्य न्यायाधीश उप्रेतीको बेन्चमा परेको थियो।
जिल्ला अदालतका श्रेस्तेदार नरेन्द्रकेशरी पोखरेलले कृष्णबहादुर गिरीलाई ३ लाख धरौटीमा रिहा गरिने बताए। काठमाडौंबाट चतराधाम उनको आश्रममा पुगेकी एक महिला अनुयायीले गत कात्तिक ४ गते जबरजस्ती करणी गरेको भन्दै सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन्।
त्यसपछि मुटुमा समस्या देखिएको भन्दै अभियोग लागेका सिद्धबाबा विराटनगरस्थित विराट नर्सिङ होमको आइसियूमा रहेकै बेला गत मंसिर १६ मा प्रहरीले उनलाइ पक्राउ गरेको थियो।