हामी स्ववियु निर्वाचनको व्यग्र पतिक्षामा छौं: रञ्जित तामाङ



कर्णाली सन्देश डेस्क,

काठमाडौँ। अनेरास्ववियूका सहसंयोजक एवं प्रभावशाली विद्यार्थी नेता रञ्जित तामाङले आगामी फागुन १४ गते स्ववियु निर्वाचनका लागि त्रिविले वातावरण मिलाउनुपर्ने बताएका छन्।

कर्णाली सन्देशसँगको संक्षिप्त कुराकानीमा नेता तामाङले भने,‘२०७३ मा त्रिविले जम्मा ४० प्रतिशत मात्रै स्ववियु निर्वाचन सम्पन्न गर्न सकेको थियो। आगामी फागुनमा पूर्ण निर्वाचन गर्नेमा जुट्नुपर्छ। हामी विद्यार्थी संगठनहरु स्ववियू निर्वाचनको बेग्र पतिक्षामा छौं।’

राजनीतिक अस्थिरता र अन्य केही कारणहरुले विगतमा त्रिविको शैक्षिक क्यालेण्डरअनुसार स्ववियु निर्वाचन नभएको अवस्थामा विद्यार्थीका हकहित र अधिकारहरु कुण्ठित भएको नेता तामाङको भनाई छ।

नेपाल विद्यार्थी संघको केन्द्रीय समिति नै छैन, यस्तो बेलामा स्ववियु सम्भव हुन्छ ? भनेर सोधिएको प्रश्नको जवाफमा तामाङ भन्छन्,‘नेविसंघको केन्द्रीय समिति मात्रै छैन। क्याम्पसमा उसको संरचना छ। जहाँसम्म पछिल्लो समय समाचारमा आएअनुसार कांग्रेसले नेविसंघको बारेमा केही निर्णय गर्दैछ। जे होस् सबैलाई मिलाएर त्रिविले स्ववियुको निर्वाचन गर्नुपर्ने हुन्छ।’

त्यस्तै त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने तयारी थालेको जानकारी दिएको छ। यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधिकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएका छ। त्रिविले आगामी फागुन १४ गतेभित्र निर्वाचन गर्नुपर्ने हुन्छ।

त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गङ्गाबहादुर थापाले ११ वर्ष अघिदेखि हुन नसकेको करिब ४ सय आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा पनि सोही दिन निर्वाचन गर्ने तयारी थालिएको बताउँछन्।

२०७३ सालमा करिब २ सय ८० क्याम्पसमा मात्र निर्वाचन भएको थियो। हाल करिब एक हजार एक सय सम्बन्धन प्राप्त क्याम्पस छन् । त्रिविकै बेवास्ताका कारण गत वर्ष अन्तिम समयमा आएर निर्वाचन स्थगित भएको थियो।