प्रेस संगठनका सदस्यहरुलाई प्रचण्डले खुवाए सपथ



काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध प्रेस संगठन नेपालका केन्द्रीय पदाधिकारीसहित सदस्यहरुले शनिबार सपथ लिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा देशभरबाट आएका प्रेस संगठनमा आवद्ध पत्रकारहरुलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सपथ खुवाएका थिए।

अनलाइन खबरका अनुसार सपथ पत्रमा मर्यादित, जनपक्षीय र जिम्मेवार पत्रकारिताको लक्ष्यप्रति प्रतिवद्ध रहने, श्रमजिवी पत्रकारको हित रक्षाका लागि निरन्तर लागि रहने र समाजवाद स्थापनाको बाटोमा डटेर लाग्ने उल्लेख छ। कार्यक्रममा ‘प्रधानमन्त्रीसँग सञ्चारकर्मी’ कार्यक्रम राखेर प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले सम्बोधन गरेका छन्।

प्रधानमन्त्री ओलीले स्रोत र साधन भएकाहरुले मिडियामा लगानी गरेर त्यसलाई प्रयोग गरेको धारणा राखे। अर्का अध्यक्ष प्रचण्डले बुर्जुवाहरुले सूचना प्रविधिको दुरुपयोग गरिरहेको बताए।

प्रविधिलाई जनताको हितमा प्रयोग गर्न प्रेस संगठनका सदस्यहरु सिपालु हुनुपर्ने र बुर्जुवाहरुलाई जित्नुपर्ने भन्दै उनले भने, ‘त्यसका लागि तपाईको यो बटालियन कति सक्षम छ, तपाईंहरुका हतियार कति धारिला हुन्छन्। विरोधीको हतियारलाई काउण्टर गर्न कति व्यवस्थित हुन्छन् भन्नेले जित हारको फैसला हुनेवाला छ।’

बुर्जुवाहरुले श्रमजीविहरुलाई सजिलै नपत्याउने तर गद्दीबाट लगहत्याएपछि शासनसत्ताको अनुभव, पैसाको तागतले प्रतिक्रान्तिको तानाबाना बुन्ने गरेको प्रचण्डले सुनाए। उनले भने, ‘उनीहरुसँग पैसाको तागत हुन्छ, उनीहरुसँग अनुभवको तागत हुन्छ। उनीहरुसँग शासनसत्ता कसरी चलाउने भन्ने अनुभव हुन्छ। यसलाई प्रयोग गरेर फेरि प्रतिक्रान्ति गर्ने तानाबाना बुन्छन्।’

पार्टी एकताका विषयमा जनतालाई राम्रोसँग बुझाउन नसकिएमा उनीहरुको नजरमा छिपछिपे र हल्का हुने खतरा बढ्नसक्नेतर्फ सचेत गराए। पार्टी एकता सत्ता प्राप्तीका लागि मात्रै नभएको उनले बताए।