ओलीको भीम रावलप्रति व्यङ्ग्य,‘पार्टीको विरूद्धमा बोल्न नयाँ कवि जन्मिए’



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वलाई विरोध गर्न पार्टीमा नयाँ नयाँ कवि जन्मिएको भन्दै स्थायी समिति सदस्य भीम रावलप्रति व्यङ्य गरेका छन्।

पार्टी भातृसंस्था प्रेस संगठनका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा शनिबार प्रधानमन्त्री ओलीले पार्टीको सफलतामा बोल्न नसक्ने नेताहरु विरोधमा मात्रै बोलेको आरोप लगाए।

‘पार्टीको नेता भएर पार्टीकै सफलतामा बोल्न नसक्ने, विरोधमा मात्रै बोल्दा कसैको प्रेस्टिज माथि उठ्दैन,’ ओलीले रावलमाथि व्यङ्य गर्दै भने, ‘कुण्ठामात्रै बोकेर पार्टीमा बस्दा कसैको भलो हुँदैन। पार्टीको सरकारले राम्रो काम गर्दा बोल्न नसक्ने?’

रावलले केही दिनअघि सम्पन्न नेकपा स्थायी समितिमा नेकपा र राजपाबीच भएको राष्ट्रियसभामा तालमेलसम्बन्धी सहमतिको व्यङ्य गर्दै ‘धुँवाले छोपिँदै दियो’ शीर्षकमा कविता वाचन गरेका थिए। बैठकमा सहभागी नभएका ओलीले कविताको जवाफ शनिबारको कार्यक्रममा दिएका हुन्।

प्रदेश २ मा २०७४ मा भएको राष्ट्रियसभा निर्वाचनमा नेकपाले एक स्थानमा पनि नजितेको, अहिले राजपासँग सहमति भएपछि दुई सिट जित्ने पक्का भएको बताए। ‘राम्रो काम गर्दा विरोधीले त विरोध गर्थे नै, आफ्नैले पनि विरोध गरे,’ ओलीले भने, ‘कसैलाई कोही मान्छे मन पर्दैन होला। आनीबानी व्यवहारका कमजोरी देखे भन्नुस्। सही नीतिले देश सञ्चालन गरेका छौं। फेरि विरोध किनरु’

कार्यक्रममा ओलीले सरकारले गरेका राम्रा कामको फेरिहस्त सुनाए। ‘निरंकुशता ढालिएको छ, संविधान बन्न नदिँदा बनाइएको छ। नाकाबन्दी खोलिएको छ। भूपरिवेष्टितबाट हटाइएको छ। अनि विरोध किन,’ ओलीले भने।

७० वर्षको अनुभवले मुलुक चलाएको भन्दै ओलीले कुनै पनि हालतमा डुब्‌ननदिने बताए। विरोधीले कुनै राजनीतिक इस्यु नपाएपछि खुद्रा विषयमा विरोध गरेको बताए। गुठी विधेयकमा सरोकारवाला भन्दा पनि गैर सरोकारवालाको उछलकुद धेरै भएको भनाइ ओलीको छ।

ओलीले पहिचानको राजनीतिका नाममा जातजातबीच लडाउने काम भएको बताए। ‘हामीलाई नेपाली भनेरै बिर्साउने खेल भयो। तराई, पहाडमा विभाजित गर्ने खेल भयो,’ ओलीले भने, ‘धर्म, जात, भाषाका नाममा लडाइयो। चीनलाई सयौं वर्षसम्म अफिममा फसाए। रूवान्डामा शताब्दीसम्म हुतु र तुत्सीको नाममा लडाए । हाम्रो देशमा पनि मुस्लिम र हिन्दुको नाममा लडाउन खोजियो। त्यसलाई हामीले असफल बनायौं ।’

प्रधानमन्त्री ओलीले अहिले राजनीतिलाई विस्थापित गराउने र अराजनीतिक प्रवृत्ति बढाउने खेल भइरहेको बताए। अन्तर्राष्ट्रियरूपमा कम्युनिस्टले धक्का खाँदा नेपालमा केन्द्रदेखि स्थानीय तहसम्म असाधारण बहुमत रहेको उल्लेख गर्दै उनले यसप्रति नकारात्मक भाव फैल्याउन देश–विदेशसम्म खेल भइरहेको बताए।