संसदको हिउँदे अधिवेशनबाट ‘एमसीसी’ पारित हुन्छ: परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसीका विषयमा अनावश्यक शंका नगर्न आग्रह गरेका छन्। बुधबार बसेको राष्ट्रियसभा अन्तरगत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा ज्ञवालीले उक्त आग्रह गरेका।

उनले एमसीसीलाई अमेरिकाको इन्डो प्यासिफिक रणनीतिसँग जोड्न आवश्यक नभएको बताएका छन्। बैठकमा उनले भनेका थिए, ‘इन्डो प्यासिफिक रणनीति २०१७ बाट सुरु भएको देखिन्छ। तर, एमसीसीमा हामीले २०१७ मा सही नै गरिसका थियौं। बनको बाघले खाओस् नखाओस् मनको बाघले खाएको जस्तो देखिन्छ। एमसीसीलाई इन्डो प्यासिफिकसँग जोड्न आवश्यक छैन।’

उनले संसदको यही अधिवेशनबाट एमसीसी पारित हुने पनि जिकिर गरे। उनले भने, ‘नयाँ सदनमा एमसीसी हुने गरी अगाडि बढाइन्छ। अनुमोदन हुन्छ त्यसमा अलमलिनु पर्दैन।’

अमेरिकी सहयोग एमसीसीको सहयोग लिने सहमति गरिसकेको नेपालले संसदबाट यसलाई अनुमोदन गर्ने विषयमा विवाद उत्पन्न भैरहेको छ। यसलाई संसदबाट पारित गर्न हुने वा नहुने भनेर दलहरुबीच मतभेद देखिएको छ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै पनि एमसीसीका विषयमा मत बाझिएको स्थितिछ। प्रधानमन्त्री केपी शर्मा ओली यसलाई जसरी पनि संसदबाट अनुमोदन गर्नुपर्छ भन्ने पक्षमा उभिएका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल यसको विपक्षमा उभिएका छन्।