एजेन्सी। भारतको झारखण्डमा भएको विधानसभाको चुनावमा झारखण्ड मुक्तीमोर्चा, कांग्रेस र राष्ट्रिय जनता दलको संयुक्त गठबन्धनमा सरकार बन्ने भएको छ।
सोमबार आएको मत परिणाममा सत्तारुढ दल भारतीय जनता पार्टी ‘भाजपा’ पराजित भएसँगै तीन दलको गठबन्धन हुने भएको हो। झारखण्डमा ८१ सिट मध्ये तीन दलले ४७ सिट पाउँदा भाजपाले २५ पाएको छ। बाँकी सिट साना दलहरुले लिएका छन्। भाजपाका नेता तथा झारखण्डका मुख्यमन्त्री रघुवीर दासले चुनावी प्रचारप्रसारका क्रममा ६० सिट भन्दा बढी प्राप्त गर्ने दावी गरेका थिए।
यसअघि सन् २०१४मा मुख्यमन्त्रीको पदका लागि प्रचार नै नगर्दा पनि भाजपाले ३७ सिट प्राप्त गरेको थियो। ‘जनता भाजपासँग रिसाएका छन्, मत परिणामले देखाएको छ’ झारखण्ड जनमुक्ती मोर्चाका हेमन्त सोरेनले एनडिटिभीलाई भनेका छन्। अहिले हेमन्त सोरेन झारखण्डको मुख्यमन्त्री पदका लागि दाबेदार समेत हुन्।
गठबन्धनमध्ये पनि जनमुक्ती मोर्चाले मात्रै ३० सिट हासिल गरेको छ। झारखण्डमा पाँच वर्ष देखि नै भाजपाको सरकार थियो। मुख्यमन्त्री रघुवीर दासले मंगलबार गभर्नर द्रउपति मुर्मु समक्ष राजीनामा दिएका छन्।