काठमाडौँ। बर्दियाको ठाकुरबाबा नगरपालिका ६, बकुवास्थित जनज्योती माध्यामिक विद्यालयको चार कोठे भवनको शिलान्यास गरिएको छ। ३५ लाख रूपैयाँ लागतमा बन्ने उक्त भवनको सोमबार प्रतिनिधिसभा सदस्य बिमला विकले शिलान्यास गरेकी हुन्।
तराई–मधेश समृद्धि आयोजनाको आर्थिक सहयोगमा बन्ने भवनको निर्माण सम्पन्न भएपछि पठनपाठनमा सहज हुने उपभोक्ता समितिका सचिव रमेश थापाले बताए।
भवनको शिलान्यास गर्दै सांसद विकले सरकारी शिक्षालाई सरकारले गुणस्तरीय बनाउँदै लिएको बेला विद्यालय भवन बन्नु विद्यालय, विद्यार्थी र अभिभावका लागि खुशीको कुरा भएको बताइन्।
उनले शिक्षा क्षेत्रको विकास र गुणस्तर वृद्धिका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाइन्। उनले भनिन्, ‘आज यो विद्यालय भवन शिलान्यास गर्न पाउनु मेरो लागि भाग्यको कुरा हो। यसले समग्र शिक्षाको गुणस्तर वृद्धिका लागि राम्रो हुनेमा विश्वस्त छु। म आफू पनि मेरो हैसियतले पुग्ने जुनसुकै सहयोग गर्न तयार छु।’