सीमा समस्याबारे वार्ता गर्न भारत तयार, नेपाललाई पठायो पत्र



काठमाडौँ। भारतले नेपालसँग उत्पन्न विवादका बारेमा पत्राचार गरेर वार्ताका लागि आफू तयार रहेको बताएको छ। अघिल्लो महिना नेपालले सो विषयमा पत्र पठाएकोमा अहिले भारतका तर्फबाट पत्राचार गरिएको हो।

पत्रमा ‘आपसी समझदारीमा उपयुक्त तिथिमा वार्ता गर्ने’ व्यहोरा छ। यसअघि दुवै पक्षले तय गरेको परराष्ट्र सचिवस्तरीय संयन्त्रबाटै यो विषय हल गर्ने भनिएको छ। नेपालले पठाएको पत्रमा पनि यही संयन्त्रलाई क्रियाशील बनाएर वार्ता अघि बढाउने उल्लेख थियो। सचिव हर्षवर्द्धन शृंगलाले जनवरी २९ मा कार्यभार सम्हाल्नेछन्।

भारतले गएको नोभेम्बरमा सार्वजनिक गरेको नक्सामा कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूमि भारततर्फ पारिएको थियो। त्यसको नेपालका तर्फबाट सुरुमा परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गरेर विरोध गरेको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीले सर्पपक्षीय बैठक पनि बोलाएका थिए। बैठकले प्रधानमन्त्री ओलीलाई नै सो सम्बन्धी मामिला हेर्न जिम्बेवारी दिएको थियो।