भाते दलाल पूँजीवाद: प्रदिप गिरि



धनराज वास्तविक,

नेपाली राजनीतिक इतिहासका विराट व्यक्तित्व थिए स्व. विपी कोइराला। उनको जीवनमा भएका राजनीतिक परिवर्तनले गर्दा आज हामी आफूलाई लोकतान्त्रिक देशका नागरिक हौं भनेर गर्व गर्छौं। विपीको १०६औं स्मृति सप्ताह चलिरहेको थियो। कांग्रेसले दोस्रो चरणको जागरण अभियानसमेत सञ्चालन गरिरहेको थियो। उक्त अवसरमा भदौ २९ गते गान्धी अध्ययन तथा शान्ति केन्द्र र समता अध्ययन केन्द्रले ‘लोकतन्त्रका चुनौतीहरू’ विषयक विचार गोष्ठिको आयोजना गरेको थियो।

उक्त कार्यक्रममा उपस्थित थिए विद्धान प्रदिप गिरि र हाल मन्त्रीसमेत रहेका नेकपाका नेता क.घनश्याम भुसाल। राजधानीको प्रज्ञान भवनमा आयोजित उक्त विचार गोष्ठिमा गिरि र भुसालको भाषण सुन्ने मानिसहरूको उपस्थितिले हल खचाखच थियो। दिउँसो १२ः३० बजे सुरू हुने भनिएको कार्यक्रम झण्डै एक घण्टा ढिलो सुरू भयो। कारण थियो प्रदिप गिरिको अबेर आगमन। गिरिको अनुरोधमा प्रमुख व्यक्ताका रूपमा करिब समयमै उपस्थित भएका थिए भुसाल। केही समय गिरिको प्रतिक्षा गर्नुपर्ने भयो।

यहि मौकामा विचार गोष्ठिको विषयमै केन्द्रीत रहेर मैले भुसाललाई केही प्रश्न गरें। लोकतन्त्रका चुनौतीहरूमा यो बजारिया आइडोलोजी पनि पर्छ नि ? उनले मेरो उत्तरसहितको प्रश्नलाई स्वीकार गरे। कुराकानीककक प्रदिप गिरिकै बारेमा अघि बढ्यो। मैले अर्को प्रश्न गरें गिरि बा अहिलेसम्म किन आउनु भएन दाई ? भेटका क्रममा गरिने सम्बोधनको गरिमाअनुसार प्रस्तुत भँए। क. घनश्याम नेपाल कम्युनिष्ट पार्टीका वैचारिक नेता पनि हुन्।

उनले गिरिका बारेमा वैचारिक जवाफ दिए। जवाफ थियो, ‘उहाँ समाजवाद, कम्युनिजम भनेको भए म भन्दा पहिले आउनु भएको हुन्थ्यो। तर, ‘लोकतन्त्रका चुनौतीहरू’ भनिएकाले ढिलो गर्न थाल्नु भयो।’ भुसालको जवाफ अनुसार गिरि समाजवादका बारेमा धेरै जानकार छन्। माक्र्सवादका बारेमा उतिकै व्याख्या गर्न सक्छन्।

मेरो छेउमा कालिकोटका गजलकार प्रकाश बम थिए। उनी गिरि र भुसालबाहेक अरूलाई नेता नै मान्दैन भन्छन्। उनले यो कुरा मलाई बारम्बार सुनाउँछन्। राजनीतिमा लाग्नुपूर्व राजनीतिकाबारे बुझ्न र गिरि अनि भुसालको जस्तो राजनीतिक चरित्र निमार्ण गर्नुपर्ने उनको दावी छ। जो सत्य पनि हो। सबै नेता गिरि र भुसाल त बन्दैनन्। तर, राजनीतिका बारेमा जानकार भएर राजनीति गर्दा व्यक्ति मात्रै होईन देश जनतालाई समेत फाइदा पुग्छ। गिरि र भुसालले आफ्नो व्यक्तित्वलाई जीवित इतिहासमै फरक पहिचानका रूपमा स्थापित गरेर देखाएको कुरालाई बलियो प्रमाण मान्न सकिन्छ।

नेपाली राजनीतिको जीवित इतिहासमा गिरि र भुसाल प्राय नेपालीले मन पराएका र सम्मानित व्यक्ति हुन्। यि दुवै जना वैचारिक नेता हुन्। यिनका लेख, अन्तरवार्ता पढेर विचार बनाउने, भाषण गर्ने, परिक्षामा सोधिएका प्रश्नको जवाफमा उनीहरूकै भनाइलाई आधार मानेर उत्तर लेख्ने विद्यार्थीहरू पनि छन्।

गिरिको आगमन बिनै कार्यक्रम सुरू भयो। पहिलो वक्ताका रूपमा युवा राजनीतिक विश्लेषक डा.उद्यव प्याकुरेल थिए। उनले लोकतन्त्रका आन्तरिक तथा वाह्य चुनौतीका बारेमा मथिङ्गल हल्लाउने गरि विषय उठाए। उनले इंगित गरेका विषयमा केन्द्रित रहेर क.भुसालले विचार राख्न पोडियममा पुगे। वातावरण फरक बन्यो । प्राय कांग्रेसका नेता कार्यकर्ताहरूको वाग्लो उपस्थिति रहेको उक्त कार्यक्रममा भुसाललाई तालिले जोडदार स्वागत गरियो। उनले सदाझै व्यहारिक, वैज्ञानिक तथा वैचारिक भाषण सुरू गरे।

२०४७ सालको संविधान अकालमा मर्यो

‘हामीले राजाबाट खोसेको व्यवस्थाको चरित्र दलाल पूँजिवाद हो। तत्कालिन, कांग्रेस, एमाले, मालेबीचको झगडा, भारतीय र दरबारियाको स्वार्थका कारण २०४७ सालको संविधान अकालमा म¥यो। त्यहाँभन्दा पहिले पनि लोकतन्त्रमाथि खतरा नभएको भने होईन। राजा भएको संविधान कसरी प्रगतिशिल हुनु सक्थ्यो र ? भन्ने प्रश्न उठ्न सक्छ। तर, तीन चार बुँदा बाहेक हामीले राजालाई साइजामा राख्नेगरि २०४७ सालको संविधान लेखेका थियौं। तर, कांग्रेस र एमाले एक ठाउँमा उभिन सकेको भए रक्तापात बिना, आजभन्दा पहिले नै देशले हालको परिवर्तन हासिल गरिसकेको हुने थियो।’

यसरी भुसालले लोकतन्त्रमाथि अरूबाट खतरा नहुने तर्क पेश गरेका थिए। संविधान ल्याउने मानिसहरूको हालत जस्तो हुन्छ, जुन रुप, आकारको हुन्छ। संविधान पनि त्यस्तै बन्छ। लोकतन्त्र पनि त्यस्तै बन्छ। मुख्य नेता, मुख्य पार्टी नै स्वार्थी बनेपछि लोकतन्त्र पनि स्वार्थी जस्तो देखिन्छ। जनताले स्वार्थी लोकतन्त्र भन्न थाल्छन्। आखिर लोकतन्त्र न त स्वार्थी हुन्छ। न त पक्षपाति । जनताले अन्याय महसुस गर्नु नै लोकतन्त्रमाथिको खतराको घण्टी बज्नु हो। फेरी भुसाल आफ्नो भाषणको एक ठाउँमा भन्छन्, ‘वर्तमान समयमा दलाल पूँजीवादले काम गरेको छ। एक शब्दमा भन्नुपर्दा आफू काम नगर्ने तर, उनीहरूलाई नै सबैभन्दा बढी खानु पर्ने, मोज गर्नुपर्ने, विलाशी हुनुपर्ने व्यवस्था र अवस्था नै दलाल पूँजीवादी व्यवस्था हो।’

भुसालले अर्थतन्त्रका बारेमा बोल्दै विश्वका अर्थशास्त्रीहरूलाई गतिलो झापड दिएका थिए। उनले भनेका थिए, ‘आज आर्थिक मन्दीको प्रसँग उठेको छ। अर्थशास्त्रीहरूले यो निश्कर्ष निकाल्नु पूर्व विश्वका ९९ प्रतिशत मानिससँग भएको बराबर सम्पत्ति केवल एक प्रतिशत मानिससँग छ भन्ने कुरा किन भुले ?’ यसै क्रममा भुसालले दलाल पूँजवादलाई गिरिको शब्द सापटी लिएर भाते दलाल पूँजिवाद भनेर सम्बोधन गरे। १९औं शताब्धिपछि विचार र सिद्धान्तको जन्म हुन सकेको स्थिति छैन। सामाजिक विचलन, राजनीतिक विलचन, आर्थिक विचलन, साँस्कृतिक विचलन, मनोवैज्ञानिक विचलन जस्ता विकरालहरूले विश्व आक्रान्त छ। यतिबेला बजारिया आइडोलोजिले काम गरिरहेको मेरो निश्कर्ष छ।

सत्तारुढ दल नेकपाको अंहकार र प्रतिपक्षि नेपाली कांग्रेसको इमान्दारिता नै लोकतन्त्रको मुख्य चुनौती हो। पूँजीवादले मुलुक र जनताभन्दा पहिले राजनीतिक दललाई ‘हाइज्याक’ गर्छ। पहिले दलभित्रका कार्यकर्ताको सार्वभौम अधिकार मासिन्छ त्यसपछि जनताको। यसका सन्दर्भमा भुसाल भन्छन्, ‘जुन विषयमा सहमति गर्नुपर्ने हो त्यो विषयलाई लिएर संसदमा झगडा गर्छन्। जुन विषयमा व्यापक विरोध र झगडा हुनुपर्ने हो त्यस्तो विषयमा राष्ट्रिय सहमति गरिन्छ।’

भुसालको यो भनाईलाई मन्थन गर्ने हो नेपालका राजनीतिक दल र यिनका प्रमुख नेताहरू राष्ट्रहितमा एक मत छैनन्। व्यक्तिगत तथा दलगत स्वार्थमा रातारात मिल्न तयार रहन्छन् भन्ने कुरा जान्न पाइन्छ। सम्बन्धित राजनीतिक दलभित्र गिरि र भुसाल आफ्नै पार्टीका प्रतिपक्षि नेता हुन्। राजनीतिक दलहरूका क्रियाकलापलाई हेर्ने हो भने राजनीति देशको लागि, जनताको लागिभन्दा आफ्नो लागि र आफ्नो पार्टीको लागि गरिँदो रहेछ। यसलाई म राजनीति भन्दिँन, लाजनीति भन्छु। दलाल पूँजीवादका बारेमा एक शब्द नबोल्ने राजनीतिक दल, पार्टीका शिर्ष नेता र उनीहरूका क्रियाकलाप लोकतन्त्रका चुनौती हुन् भन्ने निश्कर्ष भुसालको छ।

माक्र्सका अनुसार समाजवाद पूँजिवादको गर्भबाट जन्मिन्छ। सामाजिक स्वामित्व र सामाजिक श्रमबीच कन्ट्राडिक्शन नै समाजवादको केन्द्रविन्दु हो। जुनकुरा अर्का राजनीतिक विश्लेषक मुमाराम खनाले बारम्बार समाजवादका बारेमा बोल्दै आएका छन्।

लोकतन्त्रको रक्षा हिंसारहित संघर्ष

माओ, लेनिन र गान्धी, जय प्रकाश, डा.लोहियालगायतले विश्वलाई लड्नको लागि दुईवटा तरिका सिकाएर गएको अर्का विद्वान गिरिको भनाई छ। उनले भने, ‘माओ, लेलिनले मर्न र मार्न तयार छौं भने, गान्धीलगायतले मान्दैनौं र मार्दैनौं भने। यि हुन् लड्ने दुई तरिका।’

विद्धान गिरि गान्धीको लड्ने तरिकाबाट प्रभावित छन्। उनले गान्धीबारे जीवन कालमा धेरै लेखेका छन्। पढ्नेहरूलाई यो कुरा जानकारी छ। लोकतन्त्रमाथिको खतरा टार्नुछ भने हिंसारहित संघर्षको परिपार्टी बसाल्नुपर्ने गिरिको पुरानै मान्यता छ।

भारत स्वतन्त्रताका सेनानी, समाजवादी चिन्तक तथा विचारक डा.राममनोहर लोहिया अंग्रेजको पालामा जम्मा ४ पटक जेल गएको र जवारलाल नेहरुको शासनकालमा १७ पटक जेल गएको स्मरण गराउँदै विद्धान गिरिले हिंसारहित आन्दोलन लोकतन्त्र रक्षाको एउटा अचुक उपाए हुने बताएका थिए।