काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले विधिवत रुपमा भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि समावेश गरेको भन्दै विरोध जनाएका छन्।
सोमबार राजधानीको रामशाह पथ स्थित नेपाल बार एशोसियशनमा राष्ट्रिय जागरण मञ्चले आयोजना गरेको ‘नेपालको राष्ट्रियता र भारतीय प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कट्टेलले विरोध जनाएका हुन्।
उनले नेपाल सरकारका प्रवक्ता एवं सञ्चारमन्त्रीले सीमा सम्बन्धित विवाद आजको समस्या होइन भन्नु राष्ट्रघाती अभिव्यक्तिका रुपमा ब्याख्या गरेका छन्।
उनले भने, ‘सरकारका प्रवक्ताले भारतसँगको सीमा विवाद आजको होइन भन्नु हुन्छ। यो जस्तो राष्ट्रघाती अभिव्यक्ति अर्को के हुन्छ? परराष्ट्रको एक जना कर्मचारीले बेवारिसे वत्तव्य निकालेर राष्ट्रवादी भइन्छ?’
प्रधानमन्त्री केपी शर्मा ओली सीमा विवादका खलनायक भएको आरोप लगाउँदै अधयक्ष कट्टेलले भने,‘हिजोका दिनमा के गरिएको थियो ? त्यसको बारेमा समिक्षा गरेर जनताको बीचमा माफि माग्नुपर्छ। तत्कालिन एमाले, कांग्रेस र राप्रपाले महाकालि सन्धि गर्दा कालीनदीको मुहानका बारेमा किन ध्यान दिएनन्? ओली, शेरबहादुर देउवा, माधव नेपाल र पशुपतिशम्शेर राणा यि चार जनाले महाकाली सन्धि गरेका हुन्।’
उनले अगाडि भने, ‘देउवा, माधव, ओली र पशुपतीराणाले माफी माग्नुपर्ने हुन्छ। महाकाली सन्धि नगरभन्दा भन्दै गरे। त्यतिबेला महाकाली सन्धि गौरवका साथ पास गरे। लिम्पियाधुरा क्षेत्र विधिवत रूपमा भारतले आफ्नो नक्सामा राख्ने अवसर त्यहि महाकालि सन्धिपछि त पाएको हो। उक्त राष्ट्रघाती महाकाली सन्धिका खलनायक ओली हुन।’
उनले भने, ‘हिजो ठूलो राष्ट्रघात गरेका ओलीले आज भन्दैछन्, ‘नेपालको एक इन्च जमिन कसैलाई दिन्नौं’ ओलीलाई मेरो प्रश्न आफ्नो भूमी अरुलाइ कसले दिन्छ? सरकारको नेतृत्व भएको हुनाले एक्सनमा गएर जमिन फिर्ता गर्नुहोस् भन्ने हाम्रो माग हो। ओलीले अरु त केही गर्न सक्दैनन्। भारतीय राजदुतलाई बोलाएर सीमा विवादबारे सोध्न पनि सकेनन्।’
राष्ट्रियताको रक्षा गर्ने तागत लाखौलाख झुपडिमा भएको भन्दै अध्यक्ष कट्टेलले ओली सरकारले ख्याल गर्न सकेन भने देश क्रिडा स्थल बन्ने दावी गरे। उनले भने, ‘२००७ को क्रान्तिपछि भारतीय हस्तक्षेप सुरु भयो। प्रभाव र सीमा अतिक्रमण भए। विभिन्न बाहनामा भारतले नेपालमाथि खेल्यो। आज पनि जारी छ। अहिले त अमेरिकाले इण्डो शैन्य रणनीति मार्फत देशलाई क्रिडा स्थल बनाउने रणनीतिमा छ। इण्डो प्यासिफिक चीनलाई एक्ल्याउने र नेपाललगायत अन्य देशमा शैनिक अभ्यास गर्ने अमेरिकी रणनीति छ। समयमै सोच्नुपर्ने हुन्छ।’