काठमाडौँ। नेपाली कांग्रेस जुम्लाका युवा नेता एवं संगठन विभाग प्रमुख लक्ष्मण शाहीले सरकारकै संलग्नतामा सरकारी जग्गा अतिक्रमणमा परेको दावी गरेका छन्। समसामयिक विषयसँग नजिक रहेर निरन्तर आफ्ना विचार प्रदान गर्दै आइरहेका नेता शाहीले वर्तमान समयमा सरकारको संलग्नतामा यती होल्डिङ्स र गोकर्ण रिसोर्टको जग्गा दलालको हातमा पुगेको बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा, काठमाडौस्थित गोकर्ण रिसोर्ट र दरबारमार्गको जग्गा सरकार र मन्त्रीहरुको मिलेमतोमा ऐन नै संसोधन गरेर यति होल्डिङ्सलाई दिएको छ।’
नेता शाहीले सरकार समृद्धिको नारालाई हवाला दिँदै दोहनको चरम उत्सर्कमा पुगेको आरोप लगाएका छन्। उनले अगाडि लेखेका छन्, ‘सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा, काठमाडौस्थित गोकर्ण रिसोर्ट र दरबारमार्गको जग्गा सरकार र मन्त्रीहरुको मिलेमतोमा ऐन नै संसोधन गरेर यति होल्डिङ्सलाई दिनुलाई राज्य दोहनको चरम उदाहरणका रुपमा लिन सकिन्छ। मुलुकका लागि यो भन्दा बदमासी के हुन सक्छ ? यस विषयमा जनताले सरकार र मन्त्रीहरुसॅग प्रश्न गर्ने समय आएको छ।’
के हो यति काण्ड
गोकर्ण रिसोर्ट यती होल्डिङ्स प्रालिलाई अर्को २५ वर्ष लिजमा दिएको छ। लिजको म्याद सकिनुभन्दा झण्डै ६ वर्षअगावै मन्त्रिपरिषदबाट निर्णय गरेर यतिलाई थप २५ वर्ष लिजमा दिइएपछि उक्त निर्णयको चौतर्फि विरोध भइरहेको छ।
सरकारले गोकर्ण फरेस्ट रिसोर्ट, त्यहाँ रहेको गल्फ कोर्स र जंगल क्षेत्र निकै सस्तो दरमा थप २५ वर्षका लागि फेरि यती होल्डिङ्स प्रालिलाई नै दिएको छ । सरकारी स्वामित्वको उक्त सम्पत्ति प्रयोगबारे पुरानो सम्झौताको म्याद सकिनु ६ वर्ष बाँकी छँदै यतीलाई समय थपिएको हो।
गोकर्णेश्वर नगरपालिकामा पर्ने, झण्डै २८ सय रोपनीमा फैलिएको उक्त रिसोर्ट र गल्फ कोर्सका लागि यतीले प्रतिरोपनी ५ सय ६४ रुपैयाँ मात्र मासिक भाडा सरकारलाई तिर्दै आएको छ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको नेपाल ट्रष्ट सञ्चालक समितिको सिफारिसमा गत सोमबार मन्त्रिपरिषद बैठकले समय थप्ने निर्णय गरेको र मन्त्रिपरिषदले गरेका अन्य निर्णयहरु गत बिहीबार सार्वजनिक गरिए पनि यसबारे खुलाइएको छैन।