सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले संविधानको मर्म अनुसार ३ वटै सरकारले राजकीय अधिकारको प्रयोग एवं राज्यसंचालन गर्नुपर्ने अडान दोहोर्याएका छन्।
संविधानले तिन वटै सरकारको कार्यक्षेत्र र अधिकारको प्रष्ट व्यवस्था गरेको बताउदै मुख्यमन्त्री शाहीले माग्ने र दिने जस्तो अवस्था आउन नहुने बताए।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्धारा कर्णाली प्रदेश राजधानी सुर्खेतमा आईतबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले एकात्मक व्यवस्थाबाट विकास भएन, दुरदराजका जनताको भावना शासनसत्तामा प्रतिनिधित्व भएन भनेरै आन्दोलनको बलमा संघीय व्यवस्था स्थापना भएको बताए।
सरकारमा बस्नेहरुको मानसिकतामा परिवर्तन जरुरी भएको वताउदै मुख्यमन्त्री शाहीले आफु बाहेक अरु केही होईन भन्ने भ्रमले न्यायोचित विकासको जनअपेक्षा पुरा नहुनेमा जोड दिए।
‘प्रदेश र स्थानीय सरकार छन् भन्ने संघीय सरकारलाई थाहा नै छैन, आफुले गरे मात्रै विकास हुन्छ भन्ने मानसिकता संघीय सरकार र प्रदेश सरकारको छ।’ मुख्यमन्त्री शाहीले भने –‘व्यवस्थामा आएको संघीयता मानसिकतामा पनि आउन जरुरी छ।’