प्रेस सङ्गठन नेपालले बोलायो पुस १२ गते राष्ट्रिय भेला



काठमाडौँ। प्रेस सङ्गठन नेपालले यहि पुस १२ गते राष्ट्रिय भेलाको आह्वान गरेको छ। तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकतापछिको शपथ ग्रहण तथा प्रथम राष्ट्रिय भेला पुस १२ गते काठमाडौँमा बोलाइएको आयोजकले जनाएको छ।

भेलामा सङ्गठनका केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय आयोगका सदस्य, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला (प्रतिष्ठान) र एसोसिएटका संयोजक र सहसंयोजक सहभागी हुने केन्द्रीय सहसंयोजक गणेश बस्नेतले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष आतिथ्यतामा भेला हुने तय भएको छ।

भेलामा सचिवालयका नेताहरु, तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रचार विभागका प्रमुखसमेतलाई आमन्त्रण गरिएको छ। तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भई २४९ सदस्यीय प्रेस सङ्गठन नेपाल गठन भएको थियो।

सङ्गठनको प्रदेश र जिल्लास्तरमा पूर्णताको काम लगभग सम्पन्न भएको छ। सङ्गठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक बस्नेतले गत मङ्सिर १० गते केन्द्रीय कमिटीलाई पूर्णता दिइ प्रदेश र जिल्लास्तरमा एकता गर्न निर्देशन दिएका थिए।