काठमाडौँ। सत्तारुढ नेकपाको स्थायी समिति बैठक जारी रहेकै वेला नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का ११ जना नेता राष्ट्रपति निवास पुगेका छन्। राष्ट्रपति विद्या भण्डारीले झन्डै एकचौथाइ नेताहरूलाई सरकारी निवासमा बोलाएर छलफल गरेको खुलेको छ।
राष्ट्रपति भण्डारीले शीतलनिवासमा बोलाएर ११ नेतालाई ‘लन्च’ खुवाएको घटनाले नेकपा बैठकमा नेताहरूबीच भनाभनसमेत भएको छ। राष्ट्रपतिको लन्च मिटिङमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, अर्थमन्त्री डा। युवराज खतिवडा, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, वनमन्त्री शक्ति बस्नेत, कृषिमन्त्री घनश्याम भुसाल, ऊर्जामन्त्री वर्षमान पुन, संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्वगृहमन्त्री जनार्दन शर्मा र नेता देवेन्द्र पौडेल सहभागी थिए।
शनिबार बिहान ११ बजे धुम्बाराहीमा सुरु भएको स्थायी समिति बैठकमा १० जना नेताहरू एक घण्टा ढिलो हुल बाँधेर प्रवेश गरेपछि अध्यक्ष प्रचण्डले जिज्ञासा राखेका थिए। ‘यहाँ पार्टीको बैठक चलिरहेको छ, तपाईंहरू कहाँ हराउनुभएको थियो ? प्रचण्डको प्रश्न उधृत गर्दै स्थायी समिति सदस्य वेदुराम भुसालले भने, ‘तपाईंहरू किन जानुभएको थियो ? के कुरा भयो, बैठकलाई जानकारी गराउनुस्। हामी विधि र प्रक्रियाका कुरा गर्छौं तर तपाईंहरू अध्यक्षलाई जानकारी नै नगराई बैठकमा ढिला आउनुहुन्छ।’
प्रचण्डको जिज्ञासापछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पूर्वनिर्धारित भेटघाटका लागि आफूहरू राष्ट्रपतिकहाँ गएको जवाफ दिएका थिए । ‘आजै अकस्मात् हामी राष्ट्रपतिकहाँ गएको होइन। यो पहिल्यै तय भएको कार्यक्रम थियो, बैठक ११ बजे हुने भएपछि हामी ९ बजे पुगेका थियौं। खाना खाएर आउन लागेकाले ढिला भयो।’
ज्ञवालीको भनाइको लगत्तै भीम रावल, रघुजी पन्तलगायत नेताहरूले पार्टी बैठकको बीचैमा राष्ट्रपतिकहाँ जानु आपत्तिजनक भएको भन्दै प्रतिवाद गरेका थिए । ‘पार्टीको मिटिङ चलिरहँदा तपाईंहरू राष्ट्रपतिकहाँ जान मिल्छ ? यो आपत्तिजनक विषय हो,’ रावलले भनेका थिए, ‘राष्ट्रपतिकहाँ तपाईंहरूको के बैठक थियो।’
बैठकमा अरु नेताहरूले पनि आपत्ति जनाउँदै हो–हल्ला गरेको र भनाभन भएको नेता वेदुराम भुसालले जनाए। रावललाई जवाफ दिँदै ज्ञवालीले भनेका थिए, ‘राष्ट्रपतिकहाँ हामी जानै नहुने ? राष्ट्रपतिजस्तो सम्मानित संस्थाबारे प्रश्न उठाउन मिल्छ ? राष्ट्रपतिसँग भेटलाई पार्टीमा छलफलको विषय बनाउन मिल्छ ?’
रावलले राष्ट्रपतिले राजनीति गर्न खोजेको हो भने भन्नुप¥यो भन्दै ज्ञवालीलाई तुरुन्तै जवाफ फर्काए, ‘राष्ट्रपति संविधानभन्दा माथि होइन, प्रश्न उठाउनै नपाइने किन ?’ नेकपा स्थायी समितिमा भनाभन र हो–हल्लाको स्थिति आएपछि अध्यक्ष प्रचण्डले हस्तक्षेप गरेर विषयान्तर गरेका थिए ।
प्रचण्डले यसअघि पार्टीका दुई अध्यक्षले राष्ट्रपतिलाई भेट्दा पनि सार्वजनिक रुपमा आलोचना भएको प्रसंग स्मरण गर्दै नेताहरूलाई विधि र प्रक्रिया ख्याल गर्न आग्रह गरेका थिए । उनले भनेका थिए,‘हिजो हामी जाँदा पनि आलोचना भयो, त्यसमा पनि कहीँ न कहीँ कमजोरी हुन गयो भन्ने मलाई महसुस भएको छ, हामीले यसमा ख्याल गर्नुपर्छ।’
तस्बिर: मुकुन्द कालिकोटे