काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्लामा नेपाल प्रहरीकी उपरीक्षक (एसपी) गंगा पन्तको सरूवा भएको छ।
चितवन प्रहरीका प्रमुख एसपी दानबहादुर मल्लको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरूवा भएपछि एसपी पन्तलाई चितवन सरूवा गरिएको हो। चितवन जिल्लामा एसपी मल्लले राम्रोसँग जिम्मेवारी सम्हाल्न नसकेको भनेर आलोचना हुँदै आएको थियो। मल्लले अवैध बालुवाखानी, क्रसर, नदी उत्खननमा सहयोग गरेर रकम कुम्ल्याएको आरोप छ।
प्रधान कार्यालयले एसपी मल्ललाई चितवनबाट हटाएर उनको ठाउँमा एसपी पन्तलाई पठाएको छ। एसपी पन्तले प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सामाजिक सञ्जालमा ‘रिप’ लेखेकी थिइन्।
०७३ सालमा प्रचण्ड प्रधानमन्त्री थिए। त्यतिबेला डीएसपी रहेकी पन्तले सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डलाई ‘रिप’ लेख्दै श्रद्धाञ्जलि दिएकी थिइन्।सामाजिक सञ्जालमा अमितसिंह कार्कीको स्टाटसमा कमेन्ट गर्दै उनले पदीय मर्यादाविपरीतको कमेन्ट गरेकी थिइन्।
उनको कमेन्ट नवराज सिलवाललाई महानिरीक्षक नबनाएर जयबहादुर चन्दलाई बनाएकोप्रति लक्षित थियो।महानिरीक्षकका लागि तात्कालीन डीआइजी नवराज सिलवालले लविङ गरेपनि तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले नेपाली कांग्रेसका सभापति देउवाको दवावमा डीआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेका थिए।
तात्कालीन माओवादी–कांग्रेस गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्डले सुझबुझपूर्ण निर्णय लिएको भन्दै कार्कीले फेसबुकमा प्रचण्डको प्रशंसा गरेका थिए।
कार्कीले फेसबुकमा लेखेका थिए, ‘साहस त देउवाको जस्तो हुनुपर्छ। तिमी पानी मरुवाहरूको के काम ? आफ्नो सभापतिको विरोध गरेर गुट, उपगुटको राजनीतिलाई प्रश्रय दिन खोज्दा ठूलो दुर्घटनामा परिएला। आइजीपीको कारणले होइन, सबैले बुझ्न जरुरी छ। लोकतन्त्र मास्ने ठूलो षड्यन्त्र थियो, जो देउवा अनि प्रचण्डले कूशलतापूर्वक समाधान गरे।’
कार्कीले तात्कालीन डीआइजी नवराज सिलवालको प्रयासको विरोध गर्दै ओली–प्रचण्ड निर्णयको समर्थन गरेका थिए। कार्कीको स्टाटसमा तत्कालीन डिएसपी (हाल एसपी) रहेकी गंगा पन्तले ‘रिप’ भन्दै कमेन्ट गरेकी थिइन्। तिनै पन्तलाई अहिले नेपाल प्रहरीले प्रचण्डको गृहजिल्लामा प्रहरी प्रमुख बनाएर पठाएको छ।