चिनेकै मान्छेले छोराछोरीको अपहरण गरेर फिरौती मागेपछि…



काठमाडौँ। राजधानी काठमाडौंमा बस्ने रुपा (नाम परिवर्तन) मंसिर २८ गते ४–५ दिनको लागि पोखरा गइन्। काठमाडौंको सामाखुसीमा आफन्तहरूसँग ३ जना छोराछोरीलाई छाडेर उनी पोखरा गएकी थिइन्।

पोखरा गएको २ दिनपछि मंसिर ३० गते छोराछोरीले चलाउने मोबाइलबाट उनलाई फोन आयो। उनले खुशी हुँदै फोन उठाइन् तर फोनमा छोराछोरी बोलेनन्, उनले चिनेका आशिष सिजापतिले फोनमा कुरा गरे।

कैलालीको धनगढी घर भई हाल काठमाडौंको बानेश्वर बस्ने आशिष सिजापति र रुपा चिनजान थियो । रुपाका छोराछोरी आशिषलाई मामा भनेर बोलाउने गर्दथे।

छोराछोरीको मोबाइलबाट कुरा गर्दै सिजापतिले ३ लाख फिरौती मागिरहेका थिए। ‘तिम्रा बच्चाबच्ची मेरो नियन्त्रणमा छन् । ३ लाख रुपैयाँ दिए मात्र फिर्ता हुन्छन्,’ उनले रुपालाई भने।

रुपाले पत्याइनन्, चिनेजानेका व्यक्तिले ठट्टा गरेको होला भन्ने सोचिन् तर अर्को दिन काठमाडौं आएर हेर्दा उनले छोराछोरी नदेखेपछि आत्तिइन्। रुपाले महानगरीय प्रहरी परिसरमा छोराछोरी अपहरणमा परेको र आशिष भन्ने व्यक्तिले फोन गरेको कुरा बताइन् । उजुरीपछि प्रहरी परिसरको विशेष टोली बालबालिका खोज्नतर्फ लाग्यो।

पुस २ गते साँझ ९ बजे टोखा नगरपालिका–९ स्थित ब्लू स्टार होटलको कोठा नम्बर ४०४ बाट प्रहरीले बालबालिकासहित गोरखा नगरपालिका–१० घर भई काठमाडौं बस्ने विनोद थापा मगरलाई पक्राउ गर्‍यो।

होटलका सञ्चालकलाई पनि प्रहरीले तुरुन्त नियन्त्रण लियो।अनुसन्धानका क्रममा खुल्यो–मगरलाई आशिष सिजापतिले बालबालिकालाई हेर्नु भनेर जिम्मा लगाएका रहेछन्।

त्यसपछि प्रहरी सिजापतिको खोजीमा लाग्यो । प्रहरीले भाग्दै गर्दा मकवानपुरको हेटौंडाबाट सिजापतिलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटी बताए ।

‘बिहान स्कूल जान लागेका बच्चाहरूलाई तिम्रो ममीले होटलमा लगेर राख्नु भन्नुभएको छ भन्दै होटलमा पुर्‍याइएको रहेछ,’ प्रवक्ता बोगटीले भने। आशिष सिजापति र विनोद थापा मगरलाई अनुसन्धानको लागि जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी बोगटीले बताए।