काठमाडौँ। संसदको ५ औं तथा हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ। शुक्रबार दिउँसो ४ बजेका लागि राष्ट्रपति विद्या भण्डारीले बैठकको आह्वान गर्नुभएको छ।
उपसभामुख शिवमाया तुम्बाहाङफेले बैठकको अध्यक्षता गनुहुने भएको छ। सभामुख नभएको अवस्थामा उपसभामुखले बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ।
संविधानको धारा ९१ को उपधारा ९४ मा प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले अध्यक्षता गर्ने व्यवस्था छ। प्रतिनिधिसभा नियमावलीमा भने बैठकको प्रारम्भ र स्थगन सभामुखले मात्र गर्न पाउने प्रावधान छ। संसदीय अभ्यास पनि बैठकको प्रारम्भ र स्थगन सभामुखले नै गर्दै आएको अवस्था छ।
यस्तोमा उपसभामुखले अध्यक्षता गर्ने कि नगर्ने भन्ने अन्योल थियो। तर शुक्रबार सुरु हुन लागेको संसद् अधिवेशनको अध्यक्षता उपसभामुखले नै गर्ने टुंगो लागेको छ। नियमावलीभन्दा संविधान माथि हुने भन्दै उपसभामुखलाई अध्यक्षता गराउन सत्तासीन नेकपा तयार भएको हो।
यौन दुव्र्यवहार आरोपमा सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि उपसभामुख तुम्बाहाङफेले प्रतिनिधिसभाबाट पारित ५ विधेयक प्रमाणीकरण गर्नुभएको छैन। विधेयक प्रमाणीकरण नहुँदा कानुन बन्न सकेका छैनन्। सभामुख पद लिन सत्तासीन नेकपाले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गर्न भनिसकेको छ। पहिलो बैठकको अध्यक्षता गरेर राजीनामा दिने तयारीमा तुम्बाहाङफे रहेको उहाँको सचिवालयले जनाएको छ।