काठमाडौँ। नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टी सचिवालयको निर्णयमा विमति कायमै राखेका छन्। जारी स्थायी समिति बैठकमा पार्टी सचिवालयले गरेका निर्णय अनुमोदन प्रस्ताव आएपछि नेता नेपालले असहमति कायमै रहेको प्रस्ट पारेका हुन्। उनले पार्टी नेतृत्वले आफूलाई किनारा लगाउन खोजेको भन्दै आपत्ति जनाएका छन्।
कम्युनिस्ट पार्टी विधान, पद्धति, मापदण्ड र कमिटी प्रणालीका आधारमा चल्नुपर्नेमा त्यसो नभएको र सचिवालयले आफ्नो असहमतिविपरीत निर्णय गरेको नेता नेपालको भनाइ थियो।
गत भदौ ३ मा उनले सचिवालयले गरेका निर्णयमा ७ बुँदे फरक मत राखेका थिए। ‘सचिवालयका कतिपय प्रस्तावमा मैले छुट्टै धारणा राख्दै आएकै छु। नोट अफ डिसेन्ट छँदै छ। अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा त्यसलाई अनुमोदन गर्नुपर्ने भनिएको छ। मेरो असहमतिसहित स्थायी समिति बैठकमा छलफल गरौं।
छलफल नै नगरी अनुमोदन गरेमा मेरो सहमति हुँदैन,’ नेपाललाई उधृत गर्दै नेता विष्णुपुकार श्रेष्ठले भने। विधानविपरीत दोहोरो जिम्मेवारी अन्त्य गर्नुपर्ने, कसैलाई खातैखात, कसैलाई जिम्मेवारीविहीन बनाएर अपमानित गर्नु न्यायोचित हुँदैन भनेर आफूले पटकपटक उठाएकाले त्यसमा असहमति कायमै रहेको नेपालको भनाइ थियो।
नेपालले भने, ‘मेरो प्रश्न छ – विधानको व्यवस्था लागू गर्ने कि नगर्ने रु मैले आरम्भदेखि नै यस्तो धारणा राख्दै आएको छु। सचिवालयले गरेका निर्णयमा मैले राखेको असहमति कायमै छ।’ उनले प्रदेश इन्चार्ज बनाउँदा नै गण्डकी प्रदेश र प्रदेश ५ का इन्चार्जलाई मुख्यमन्त्री र पार्टी इन्चार्जको जिम्मेवारी दिएकोमा फरक मत राखेका थिए। नेकपाभित्र नेता नेपाललाई अहिले ‘प्रतिपक्षी’ नेताका रूपमा हेरिन्छ। सचिवालयको निर्णय अनुमोदनमा स्थायी समिति सदस्य वेदुराम भुसालले पनि फरक मत रहने बताएका थिए। भुसाल नेता नेपाल निकट मानिन्छन्।यो समाचार अन्नपूर्ण दैनिकमा छ।