भारतीय गृमन्त्रीको अभिव्यक्ति होच्याउने उद्देश्यबाट प्रेरित छ: नेता बराल



काठमाडौँ। अनेरास्ववियूकी नेता सुनिता बरालले बिहीबार भारतीय गृहमन्त्री अमित साहले नेपाललाई जोडेर दिल्लीमा गरेको सम्बोधन आपत्तिजनक रहेको भन्दै बिरोध जनाएकी छन्।

भारतीय गृहमन्त्री साहले बिहीबार दिल्लीमा आयोजित सशस्त्र सीमा बलको ५६औं स्थापना दिवसको अवसरमा ‘केही गलत तत्वहरुले नेपाल र भुटानसँगको खुला सीमाको फाइदा उठाएर भारतमा अस्थिरता निम्त्याउने प्रयास गरिरहेको’ अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिलाई लिएर नेता बरालले नेपाली सीमा सुरक्षाका लागि चुनौतीपूर्ण ढङ्गबाट होच्याउने र मानमर्दन गर्ने उद्देश्यबाट गृहमन्त्री साहको अभिव्यक्ति प्रेरित भएको दावी गरेकी छन्।

नेता बरालले शुक्रबार सामाजिक सञ्जालमा आफ्नो विचार सम्प्रेषण गर्दै भनेकी छन्,‘बिहीबार दिल्लीमा आयोजित सशस्त्र सीमा बलको ५६ औं स्थापना दिवसको अवसरमा भारतीय गृहमन्त्री अमित साले केही गलत तत्वहरुले नेपाल र भुटानसँगको खुला सीमाको फाइदा उठाएर भारतमा अस्थिरता निम्त्याउने प्रयास गरिरहेको भनाई नेपाली सिमा र सुरक्षाका लागि चुनौतीपूर्ण ढङ्गबाट होच्याउने र मानमर्दन गर्ने उद्देश्यबाट प्रेरित छ।’

साथै नेता बरालले नेपाल सरकारले हालै सीमा क्षेत्रमा थप्न लागेको ११४ वटा शसस्त्र आउटपोष्टले मात्रै सीमाको सुरक्षा नहुने स्पष्ट पारेकी छन्। त्यसको लागि उचित र दिगो सीमा विवाद समाधानका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने सुझाव दिएकी छन्।

उनले लेखेकी छन्, ‘हामी हाम्रा सुरक्षा निकाय र उनीहरुको कार्यसम्पादनप्रति ढुक्क छौं। सरकारले सिमा क्षेत्रमा सशस्त्र प्रहरीका ११४ बोर्डर आउटपोष्ट थप गर्ने निर्णय गरेको छ। जुन सह्रानीय छ। तर, अझैं यो अन्तिम समाधान भने हुन सक्दैन। हाम्रो शशस्त्र प्रहरीले सिमाक्षेत्रबाट तस्करी भई आउने सामान जफत पछि संकलित सामानको मूल्यमा प्राप्त राजश्वको तथ्याङ्क पनि कम छैन।’

इतिहासदेखी आजका दिनसम्म मित्रराष्ट्र भारतले छिमेकी राष्ट्रको असली भूमिका निर्वाह नगरेको भन्दै नेता बरालले भारतीय प्रवृत्तिलाई विश्वास गर्न नसकिने बताएकी छन्। उनले अगाडि लेखेकी छन्, ‘तर, यो विषय यतिमै चित्त बुझाउने विषय होईन। भारतले गर्ने सिमा अतिक्रमण, निर्वाद भारतीय उपस्थिती, सामान तस्करी र बलियो सिमा सम्बन्धका लागि ट्रम्पले मेक्सिकोसङ्ग लगाउन खोजे जस्तो वा बलियो र बाक्लो पिलर सङ्गै चुस्त सिमा सुरक्षा तैनाथ गरिनै पर्छ। नेपाल-भारतबीच योरोेपेली मुलुकले जस्तो न साझा मुद्रा बनाउन सकिन्छ न त भारतीय प्रवृत्तिलाई विश्वास नै गर्न सकिन्छ।’

नेता बरालले नेपाल-भारतबी भिसा प्राणालीको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्। उनले भनेकी छन्, ‘पोर्चुगिज, फ्रेन्च, रसियन, नाजी वा ईटलियनहरु अहिले एक अर्काको पिडामा दुख्छन्। तर, जीवन्त ईतिहास भन्छ, उनीहरु १/१ ईञ्च जमिनका लागि यूद्द लडेको इतिहास छ। हामी गरिवी विरुद्ध, समृद्धि प्राप्तिको लक्ष्यमा हिडीरहेको बेला भारत यस्ता विभिन्न बखेडा झिकेर अल्मलाउन उद्धत छ। त्यसैले अब भारतसङ्ग सीमा सुरक्षा बढाउदै सीमानामा पर्खाल र यात्रुको लागि भिजाको प्रावधानको व्यवस्था गरिनुपर्छ।’