कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिका–९, लालु चौथाकी २३ वर्षीया गर्भवती पार्वती दर्जीको समयमा उपचार नपाउँदा ज्यान गएको छ। सोमबारबाट घरमा नै तीन दिनदेखि सुत्केरी ब्यथा लागेकी दर्जीको समयमै उपचार नहुँदा बुधबार दिउँसो ११ बजे ज्यान गएको स्थानीय शिक्षक चिन्तन नेपालीले बताए। ‘ब्यथा लागेको तीन दिन भएको रहेछ,’ उनले भने, ‘ अभिभावकले स्थानीय स्वास्थ्य चौकीमा उपचार गराएर पनि घरमा ल्याएका रहेछन्।’
सुत्केरी ब्यथाले थलिएकी महिलाको तीन दिनदेखि धामीझाँक्री गरेर घरमा नै राखेको र बुधबार बिहान मात्र आफूले जानकारी पाएको शिक्षक नेपालीले बताए । आफूले देखेको दुई घण्टापछि पार्वतीको ज्यान गएको वडा अध्यक्ष जोरासिंह शाहीले बताए। ‘मैले ज्यान जानुअघि मात्र जानकारी पाएँ,’ उनले भने, ‘जानकारी पाएको केही समयपछि नै उनको ज्यान गयो।’
नेपाल सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गर्ने कार्यक्रम ल्याएको भए पनि दुर्गम तथा पिछडिएका क्षेत्रमा त्यसको जानकारी नहुँदा कैयौं गर्भवती तथा सुत्केरी महिलाले अकालमा नै ज्यान गुमाउने गरेका छन्।