५ वर्षमा ४ हजार १ सय ५३ नेपालीको विदेशमा मृत्यु



काठमाडौँ। हरेक दिन २ अर्ब रेमिट्यान्ससँगै दुईभन्दा बढी शव भित्रन्छ। ५ वर्षमा ४ हजारभन्दा बढी नेपाली युवाले विदेशमा रोजगारी गर्न जाँदा ज्यान गुमाए, ५ सय ४५ अर्काको देशको जेलमा यातना भोगिरहेका छन्। तीमध्ये २५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ, २५ कामदार विदेशकै अस्पतालको कोमामा मृत्युसँग लडिरहेका छन्, ३८८ कामदार कहाँ हराए कसैलाई पत्तो छैन, रेमिट्यान्सले देश चलाउन पल्केका राज्य सञ्चालकहरू युवालाई वैदेशिक रोजगारको भुंग्रोमा धकेलिरहेका छन्

पछिल्लो पाँच वर्षमा वैदेशिक रोजगारीमा गएका ४ हजार १ सय ५३ जना कामदारले विदेशी भूमिमा ज्यान गुमाएका छन् । पैसा कमाएर आफ्नो र परिवारको जीवन सुखमय बनाउने सपना बोकेर गएका उनीहरू शव बनेर फर्किएका हुन् । त्यसको बदलामा राज्यले भने पाँच वर्षमा ३६ खर्ब ११ अर्ब रेमिट्यान्स भित्र्याएको छ । यसलाई आधार मान्दा हरेक दिन वैदेशिक रोजगारमा गएका कम्तीमा दुई युवाको शव मुलुकमा भित्रन्छ । त्यसको बदलामा राज्यले दिनको औसत २ अर्ब रेमिट्यान्स भित्र्याइरहेको छ ।

५ वर्षको अवधिमा नेपालबाट २१ लाख ७२ हजार ५ सय १० युवा विभिन्न मुलुकमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आव ०७५र७६ मा मात्रै ५ लाख ८८ हजार ८२८ नेपाली काम गर्न विभिन्न मुलुक गएका छन् । सो अवधिमा ८ खर्ब ७९ अर्ब रेमिट्यान्स भित्रिँदा ७ सय ५३ कामदारले ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मलेसिया नेपाली कामदारको पहिलो गन्तव्य हो । र, वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढी युवाको मृत्यु हुने मुलुक पनि मलेसिया नै हो । विगत ५ वर्षमा मलेसियामा मात्रै १ हजार ५ सय ३७ कामदारले ज्यान गुमाएका छन् । यो अवधिमा ३ खर्ब ९२ अर्ब रुपैयाँ रेमिट्यान्स मलेसियाबाट आएको छ ।

त्यस्तै, साउदी अरेबियामा १ हजार १ सय ४७ जना, कतारमा ७ सय ७, युएईमा ३ सय ३७, कुवेतमा १ सय ४५, कोरियामा ७६, बहराईनमा ४८ र जापानमा १२ जनाले ज्यान गुमाएको तथ्यांक वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको छ ।

पाँच वर्षको अवधिमा यी ८ मुलकमा ४ हजार ९ जना कामदारले ज्यान गुमाएमा छन् । ती मुलुकबाट सरकारले २१ खर्ब ४६ अर्ब रुपैयाँ रेमिट्यान्स भिœयाएको छ ।

५ सय ४५ जना जेलमा २५ जनालाई मृत्युदण्डको सजाय

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपाली कामदारमध्ये ५ सय ४५ जना विदेशी जेलमा छन् । तीमध्ये १९ जना महिला रहेको बोर्डको तथ्यांक छ । जेलमा रहेकामध्ये १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । तीमध्ये मलेसियामा १६ जनालाई मृत्युदण्ड सुनाइएको छ । साउदी अरब रियादमा ५ जना, कुवेतमा ३ र युएईमा १ जनालाई मृत्युदण्ड सजाय तोकिएको छ ।

विदेशी जेलमा रहेकामध्ये ७ जनालाई आजीवन कारावासको सजाय भएको छ । त्यस्तै, २ जनालाई २५ वर्ष र २ जनालाई १५ वर्ष, ५ जनालाई १४ वर्षसम्मको सजाय सुनाइएको छ । त्यस्तै १९ जनालाई १० वर्षसम्मको र १ जनलाई ५ वर्षसम्मको सजाय दिइएको छ । ४४ जनालाई १ वर्षसम्मको र ७५ जनालाई ३ महिनासम्मको सजाय तोकिएको छ । २ सय ९३ जना कामदार फैसलाको पर्खाइमा छन्। यो समाचार नयाँ पत्रिकामा छ।