अमेरिकी राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रस्ताव पारित



एजेन्सी। अमेरिकी संसदको तल्लो सदनमा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको प्रस्तावमा बहुमत सदस्यले महाअभियोगको पक्षमा मत हालेका छन् । ट्रम्पको विरुद्धमा भएको मतदानमा पार्टीको लाइनअनुसार नै महाअभियोगको पक्षमा २२९ र विपक्षमा १९७ मत परेको थियो।

तल्लो सदनमा विपक्षीको बहुमत भएकाले यो प्रस्ताव पास हुने निश्चित थियो। तर, अहिले नै ट्रम्प पदबाट हट्ने भने होइनन्। किन कि यो प्रस्ताव दुई तिहाइले माथिल्लो सदनबाट पनि पास हुनुपर्छ। माथिल्लो सदनमा भने ट्रम्प पक्षधर रिपब्लिकनको बहुमत रहेको छ।

सो सम्बन्धि प्रक्रिया आउँदो जनवरीमा मात्रै सुरु हुने जनाइएको छ। ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया संसदमा चलिरहेको बेलामा ट्रम्पले सभामुख नान्सी पेलोसीलाई मंगलबार एउटा पत्र पठाएका थिए।

आफूले डेमोक्र्याट्स पार्टीका तर्फबाट अघि बढाइएको महाअभियोगको कडा रुपमा विरोध गर्ने जनाउँदै उनले यो महाअभियोग अमेरिकाको अढाइ दशक यताको इतिहासमा डेमोक्रयाट्स सांसदबाट अप्रत्याशित र असंवैधानिक रुपमा शक्तिको दुरुपयोग भएको आरोप लगाएका थिए ।

उनले महाअभियोग जस्तो खराब विषयलाई सस्तो बनाउने काम सभामुखले गरेको समेत आरोप लगाएका थिए । उनले महाअभियोगको प्रक्रिया अघि बढाएर सभामुखले आफूले लिएको शपथको पनि उल्लंघन गरेको र सभामुखले अमेरिकाको लोकतन्त्रमाथि युद्धको घोषणा गरेको समेत राष्ट्रपतिले आरोप लगाएका थिए ।

६ पृष्ठ लामो उनको पत्रबारेमा टिप्पणी गर्दै सभामुख पेलोसीले आफूले पुरै पत्र पढी नसकेको बताएकी थिइन् । ट्रम्पले डेमोक्र्याट्स नेता जो बाइडेनलाई छानबिन गर्न युक्रेनका प्रधानमन्त्रीलाई आग्रह गरेको विषयलाई लिएर महाअभियोग प्रक्रिया अघि बढेको हो ।

उनी माथि विपक्षी नेता जो बाइडेनको विरुद्धमा छानबिनका लागि युक्रेनका प्रधानमन्त्रीलाई आग्रह गरेको र अर्को आफ्नो शक्तिको दुरुपयोग गरी अमेरिकी कंग्रेसको काम अवरुद्ध गरेको दुई विषयमा महाअभियोग प्रस्ताव अघि बढेको हो ।

शक्ति दुरुपयोग गरेको विषयमा भएको मतदानमा पनि ट्रम्पको विरुद्धमा २३० मत र ट्रम्पको पक्षमा १९७ मत परेको छ । सो प्रस्ताव पास हुनका लागि २१६ मत मात्रै भए पनि पुग्थ्यो । तर , आवश्यक भन्दा १४ मत बढी ट्रम्पले शक्ति दुरुपयोग गरेको पक्षमा परेको छ ।

उता सभामुख नान्सी पेलोसीले यो दुःखदायी क्षण भएको जनाउँदै राष्ट्रपति ट्रम्पको अधम कार्यले गर्दा यो अवस्था आएको र आफूहरुसँग अर्को विकल्प नभएको जनाएकी छन् । ट्रम्पलाई आफ्नो बयान दिन आग्रह गरिए पनि उनले यो प्रक्रियालाई छल्दै आएका थिए।