विकासका आयोजनाहरुमा टाठाबाठाकाे हालिमुहाली छ: मुख्यमन्त्री शाही



कालिकोट। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विकास निर्माणको रफ्तार आफूले सोचेअनुसार अगाड बढ्न नसकेको बताएका छन्।

बुधबार प्रेस संगठन नेपाल, कालिकोटका संयोजक भरतराज बिष्टको अध्यक्षता आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन्।

कार्यक्रममा पत्रकारहरूले मुख्यमन्त्री शाहीलाई विकास निमार्ण कार्यमा प्रदेश सरकार असफल भएकै हो ? भनेर प्रश्न सोधेका थिए। उक्त प्रश्नको जावाफ दिँदै मुख्यमन्त्री शाहीले विकास निमार्णका काममा सरकार असफल नभएको तर जुन रफ्तारमा विकास हुनुपर्ने हो त्यो नभएको स्पष्ट पारे।

उनले भने, ‘संघीयता कार्यान्वयनको सिलसिलामा केही ढिलासुस्ति पनि भए। केही बाधा व्यवधानहरु पनि र्सिजना भए। विस्तारै सम्पूर्ण कार्ययोजनाहरु, रणनीतिहरुलाई व्यवहारिक रुप दिने काम हुँदैछ।’

उनले विकास निमार्णका कामहरुमा टाठाबठाहरुकै हालिमुहाली भएको भन्दै सोझा साझा मानिसहरु पछि परेको बताए। मुख्यमन्त्री शाहीले आगामी दिनहरूमा अपूरा र अधुरा विकासका योजना पूरा गर्ने र कर्णाली प्रदेशलाई उदाहरणीय र नमुना प्रदेशका रुपमा विकास गर्नेमा आफू निरन्तर लागि परेको बताए।

उनले भने, ‘कर्णाली प्रदेश सम्भाना धेरै भएको प्रदेश हो। विकट कर्णालीलाई सुखी कर्णाली, समृद्ध कर्णाली बनाउनेमा प्रदेश सरकार क्रियाशिल छ। सम्पूर्ण समुदाय र क्षेत्रको साथ सहयोगमा प्रदेश सरकारको सपना पूरा हुन्छ। कर्णालीका १० जिल्लामा सडक विस्तार गर्ने, प्रत्यक घरमा विजुली बत्ति र खानेपानीको अभाव हुन नदिने कुरामा सरकार लागि रहेको छ।’

कार्यक्रममा पत्रकारहरूले कर्णाली प्रदेशले बजेट खर्च गर्न नसकेको, कर्णाली प्रदेशका योजनामा चरम भ्रस्टचार भएको, कृर्षी अनुदानमा भष्ट्रचार भएको, राष्ट्रिय प्रसारण लाईन कहिले आउछ ? कर्णाली राजमार्गको स्तरोन्नती कहिले हुने? कालिकोटका जनताले चिकित्सक सहितको उपचार सेवा कहिले पाउने ? जस्ता थुप्रै प्रश्नहरु गरेका थिए।

सबै प्रश्नहरुको जवाफ दिदै मुख्य मन्त्री शाहीले सवै समस्या विस्तारै समाधान हुने आश्वासन दिएका थिए। कार्यक्रमा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल, प्रदेश सदस्य कुर्मराज शाही, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोटका अध्यक्ष धनजित शाहीलगायतको उपस्थिति रहेको थियो।