महिला उपाध्यक्ष होइन, नेतृत्वको लागि तयार हुनुपर्छ: नेता बराल


काठमाडौँ। अनेरास्ववियूकी नेता सुनिता बरालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकारी नेतृत्वको लागि महिला तयार रहनुपर्ने धारणा राखेकी छन्। नेकपाको जारी स्थायी कमिटीको बैठकमा महिला नेताहरूले पार्टी उपाध्यक्ष र सचिवालय सदस्यमा मागदावी गरिरहेको विषयलाई लिएर नेता बरालले यस्तो धारणा राखेकी हुन्।

बुधबार सामाजिक सञ्जालमा लेखेकी छन्,‘पार्टीको माथिदेखि तलसम्म महिला उपाध्यक्ष पदमा नै व्यवस्था गरिनुपर्ने मागको खास तात्पर्य मैले चै बुझ्न सकिन। पार्टीको सबै तहका संरचनामा महिला नेतृत्व हुनुपर्छ भन्नेमा सधैंभरि छु। अब हाम्रो दावी कार्यकारि भूमिका तर्फ बढाउने कि संख्या पुर्याउनमा छलफल गरौं।’

नेता बरालले समतामुलक समाज निर्माणका लागि नेकपा मेरुदण्ड बन्नुपर्ने स्पष्ट पारेकी छन्। उनले लेखेकी छन्, ‘सबै तहलाई समाबेशि बनाउने कि त्यसमा केही फरकपन दिने? सशक्त छलफल गरौं बिधान मजबुत बनाऔं। समतामूलक समाजको मेरुदण्डमा कम्युनिष्ट पार्टीको बिधि अनुकरणीय बन्नुपर्छ।’

उनले अगाडि लेखेकी छन्, ‘सबै कमिटीका केन्द्रीय तहको कार्यकारी जिम्मेवारी (अध्यक्ष र महासचिव वा सचिव) मा महिला र पुरुषले नेतृत्व गर्ने विषय किन नउठाउने ? किन कि हाम्रा वडादेखिकै कमिटीहरुमा समाबेशी अभ्यास गरिएको छ। केन्द्रको कमिटीसम्म आईपुग्दा व्यक्तिले आफुलाई नेतृत्व लिनका लागि सक्षम बनाउनुपर्छ। यो कुनै विरोध या समर्थन होइन, नीजि विचार हो।’