भ्रष्टाचारमा लिप्त भएको भन्दै सरकारविरुद्ध कांग्रेसको हिउँमाथि प्रदर्शन



हुम्ला। नेपाली कांग्रेस हुम्लाले सिमिकोटमा दुईतिहाइको कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरेको छ। मंगलबार दिउँसो सिमकोटको कालीचोकमा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयबाट बिरोध प्रदर्शन शुरु भएको थियो। विरोध प्रदर्शनले सिमकोट बजार परिक्रमा गरेको थियो।

बजार परिक्रमापछि मानसरोवर बहुमुखी क्याम्पसको प्राङ्गणमा नेपाली कांग्रेसले विरोध सभा गरेको थियो। दुईतिहाइ बहुमतको प्रदेश र संघीय सरकारको चर्को आलोचना गरेको नेपाली कांग्रेसले विरोध सभामार्फत तीन तहमा देखिएको भ्रष्टाचार र अनियमितताको भण्डाफोर गरेको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री जीवनबहादुर शाहीले प्रहरी प्रशासन मात्र नभइ न्याय क्षेत्र पनि नेकपाको इसारामा चलेको आरोप लगाए।हुम्ला जिल्लामा बढ्दो भ्रष्टाचार र अनियमिताविरुद्ध प्रहरी प्रशासन तथा कार्यालय प्रमुखहरूले समेत नेकपाको इसारामा चलेर जनतालाई विभेद गरिरहेको उनले बताए।

नेकपाको निर्देशनमा हुम्लामा भइरहको विभेदविरुद्ध हुम्लाका जनताले सशक्त प्रतिकार गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य शाहीले चेतावनी दिए।

हुम्ला जिल्लामा स्थानीय प्रशासन र सरकारी कार्यालय प्रमुखहरूबाट यस्तै ज्यादती हुँदै जाने हो भने नेपाली कांग्रेस र हुम्ली जनता त्यसको प्रतिकार गर्न तयार रहेको चेतावनी दिइएको छ। प्रहरी प्रशासन मात्र होइन न्याय क्षेत्र पनि नेकपाको इसारामा चल्न थालेपछि अब जनताले कसरी यस्ता व्यक्तिबाट सुशासन र न्यायको प्रत्याभूति गर्ने रु भनेर शाहीले प्रश्न गरेका छन्।

हुम्ला जिल्लामा भइरहेका सबै खाले विकृति विसंगतिका विरुद्ध अब प्रदेश सभामा आवाज उठाउने उनले बताए । शाही नेपाली कांग्रेसको तर्फबाट कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्ष दलका नेता हुन्।

शाहस्ले अहिलेसम्म राष्ट्रिय सडक सञ्जालले नजोडिएको नेपालको एक मात्र जिल्लाका रुपमा चिनिएको हुम्लाका जनतालाई रेल पु¥याउने झुठ्ठा आश्वासनभन्दा पनि गाडीको आवश्यकता रहेको बताए। कम्युनिस्ट सरकाले रेल ल्याउने कुरा गरेर समय खर्च गर्नुको साटो हुम्ला जिल्लालाई छिटोभन्दा छिटो राष्ट्रिय सडक संजालसंग जोड्नतिर लाग्नुपर्ने नेता शाहीले बताए ।

झण्डै पाँच सय नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको बिरोध सभालाई नेपाली कांग्रेस हुम्लाका सभापति जयपति रोकाया, नेता मंगलबहादुर शाही र पूर्व सांसद रीता शाहीले सम्बोधन गरेका थिए। नेपाली कांग्रेसले विरोध सभा गर्ने दिन मंगलबार हुम्लामा भारी हिमपात भएको थियो । हिमपातका बाबजुद पनि नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको थियो।