काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा धारणा राख्ने नेताहरूले लामो समयसम्म बैठक नबोलाएको भन्दै नेतृत्वको चर्को आलोचना गरेका छन्।
पार्टी कार्यालय धुम्बाराहीमा जारी स्थायी कमिटीको बैठकमा सोमबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमा १२ जना नेताले आफ्नो धारणा राखेका छन्।
तीन तीन महिनामा बैठक बस्नुपर्ने प्रावधान भए पनि एक वर्षसम्म बैठक किन नबोलाएको भनेर नेताहरुले प्रश्न गरे। नेताहरुले पार्टी विधि र पद्धतिअनुसार नचलेको, सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको, मन्त्रीहरुले आफ्ना मान्छे मात्र हेरेको भन्दै आलोचना गरेका छन्।
बैठकमा बोल्दै वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, योगेश भट्टराई, पम्फा भुसाल, देवेन्द्र पौडेल, गणेश साह, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, युवराज ज्ञवाली र देव गुरुङले प्रस्तुत प्रस्तावहरुमा उल्लेखित वैचारिक, संगठनात्मक र राजनीतिक दिशा एवं विश्लेषण आधारभूत रुपमा सही रहेको धारणा राख्दै कतिपय कुराहरु परिमार्जन र सुधारका लागि सुझावसमेत प्रस्तुत गरेका छन्।
स्थायी कमिटीको बैठकमा नेतृ पम्फा भुसालले पार्टी सचिवालय विस्तार गर्न माग गरेकी छन्। सचिवालयलाई विस्तार गरेर १५ सदस्यीय बनाउनुपर्ने र आफूहरुलाई पनि समेट्नुपर्ने उनको धारणा थियो।