कलाकार भट्टराई र क्षेत्री अब सम्झनामा



काठमाडौँ। स्वर्गीय कलाकार केशव भट्टराई र दीपक क्षेत्रीलाई अन्तिम श्रद्धाञ्जली दिन कलाकारहरुको बाक्लो उपस्थिति रहेको छ। भट्टराई र क्षत्रीको अन्तिम संस्कारअघि पार्थिव शरीर चलचित्र विकास बोर्डमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो।

कलाकार क्षत्रीको शनिबार निधन भएको थियो भने चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका भट्टराईको आइतबार राति निधन भएको थियो। शनिबार कलाकार क्षेत्री डिल्ली बजारस्थित आफ्नै निवासको कोठाभित्र सुतेकै अवस्थामा मृत भेटिएका थिए।

लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय रहेका ५८ वर्षीय क्षेत्रीले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका छन्। उनको अभिनय रहेको पछिल्लो चलचित्र ‘छ माया छपक्कै’ हो । यस्तै ‘सेतो सूर्य’ ‘सीमाना’, ‘राज्जा रानी’,‘झोला’ र ‘मसान’ लगायतका चलचित्रमा उनको अभिनय गरेका छ।

यस्तै आइतबार राति चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका कलाकार भट्टराईको निधन भएको हो। भट्टराईको स्वास्थ्यमा एकाएक समस्या आएपछि उपचारका लागि चाबहिलस्थित ओम अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। उनको मृत्यु आइतबार राति १० बजेर २० मिनेटमा भएको पारिवारिक स्रोतले जनाएको छ।

भट्टराई अनामनगरमा बस्दै आएका थिए भने घरमा रहेकै बेला एकाएक स्वास्थ्यमा समस्या आएको थियो। उनको हृदयघातका कारण निधन भएको बताइएको छ। भट्टराई एक वर्षअघि चलचित्र विकास वोर्डको अध्यक्ष चयन भएका थिए।

करिब ३ दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय ५४ वर्षिय भट्टराई एक पत्नी र छोरा रहेका छन्। स्वर्गीय भट्टराई र क्षत्रीको सोमबारै अन्तिम संस्कार गरिँदैछ।