पर्सा। निर्माण व्यवसायी संघ पर्साको आन्तरिक विवाद सतहमा पोखिएको छ। संघका २ समूहले बेग्लाबेग्लै साधारणसभा गरेर एकअर्कालाई आरोपप्रत्यारोप गरेका छन्।
जिल्ला अध्यक्ष रामाकान्त चौरसियाको कार्यशैलीप्रति असन्तुष्ट प्रथम उपाध्यक्ष दिवाकर पटेलसहित बहुमत व्यवसायीले आइतबार वीरगञ्जमा बेग्लै साधारणसभा गरेका हुन्।
प्रथम उपाध्यक्ष पटेलको अगुवाईमा असन्तुष्ट पक्षले वीरगञ्जको पदम पार्टी प्यालेसमा संघको १६ औं साधारणसभा आयोजना गरेको हो। सहभागी अतिथिले कुनै पनि संस्था लोकतान्त्रिक पद्धतिबाट चल्ने भन्दै नेतृत्वको हैकमवादी शैली नचल्ने बताएका थिए। एक दुईजना व्यक्तिको मनोमानीले संस्था बदनाम हुने भन्दै उनीहरुले संस्थाको उद्देश्य र गरिमा अक्षुग्ण राख्न लोकतान्त्रिक पद्धतिबाट सञ्चालन हुनुपर्नेमा जोड दिए।
अध्यक्ष चौरसिया पक्षले गरेको साधारणसभा अवैधानिक रहेको दाबी पटेलको छ भने चौरसिया पक्षले आफूहरुले नियमानुसार साधारणसभा गराएको बताएको छ। त्यसअघि शनिबार चौरसिया पक्षधरले स्थानीय नगरसभागृहमा साधारणसभा गरेका थिए। उद्घाटनसत्रपछि विवाद भएर स्थगित भएको थियो। चौरसिया पक्षले मनोमानीपूर्ण तरिकाले साधारणसभा गरेपछि संघमा भाँडभैलो भएको आरोप असन्तुष्ट पक्षको छ।
साधारणसभालाई वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगी, नेकपाका बसुरुद्धिन अन्सारी, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, समाजवादी पार्टीका कावा जिल्ला अध्यक्ष रामनरेश यादव, राजपा नेपालका महासचिव शिव पटेल, नेपाल फोटो पत्रकार महासंघका प्रदेश २ अध्यक्ष राम सर्राफ, संघका निवर्तमान अध्यक्ष मोहन यादव, सल्लाहकार रमेश पाण्डेलगायतले शुभकामना दिएका थिए। सधारणसभाको अवसर पारेर संघका सल्लाहकार सुमित रौनियार, ध्रुव पटेल, जहुर आलम, साविर अन्सारी, रमेश पाण्डे, रामजनम गुप्तालगायतलाई सम्मानित गरिएको थियो।
के हो विवाद ?
संघको सदस्यता शुल्क ५१ हजार रहेकोमा १५ हजारमा सदस्यता दिएर बाँकी रकम किस्ताबन्दीमा तिर्न लगाउने बनाएपछि संघका विवाद सुरु भएको हो। संघको बोर्डमा छलफल नै नगराई आफ्नो पक्ष बलियो बनाउने ध्येयले १५ हजार लिएर ८० जना सदस्य थपेपछि विरोध भएको हो। आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी पटेललाई सहयोग पु¥याउने उद्देश्यले अध्यक्ष चौरसियाको मिलेमतोमा अवैधानिक तरिकाले सदस्य तोकिएको भन्दै बहुमत कार्य समिति सदस्यले विरोध गरेका हुन्। आइतबार सम्पन्न बहुमत बोर्ड सदस्य र पदाधिकारी सहभागी साधारणसभाले यसअघिको सदस्यता ५१ हजार रुपौयाँ कायम रहने र अब उपरान्त नयाँ सदस्यमा लागि ५ हजार एक सय रुपैयाँ निर्धारण गरेको छ।
आधिकारिक कुन ?
निवर्तमान अध्यक्ष मोहन यादव, प्रथम उपाध्यक्ष दिवाकर पटेल, द्वितीय उपाध्यक्ष हिरालाल पटेल, कोषाध्यक्ष उमेश क्षेत्री, सहकोषाध्यक्ष महताव आलम, कार्य समिति सदस्य राजकिशोर पटेल, फिरोज खान, पारस ठाकुर, प्रेम सर्राफ, सूर्य कोइराला, धुरेन्द्र पटेल, राजु पटेल, लालबाबु पटेल, प्रदीप यादवलगायत १४ जना कार्य समितिहरुको सहभागिता रहेको थियो।
२१ सदस्यीय कार्य समितिमा १४ जना सदस्य र ४०० साधारण सदस्यमा २२० जना सहभागी भएकाले आफूहरुको साधारणसभा नै आधिकारिक भएको दाबी प्रथम उपाध्यक्ष दिवाकर पटेलले गरे।
पूर्वअध्यक्षहरु रमेश पाण्डे, साविर अन्सारी, सल्लाहकारहरु सुमित रौनियार, ध्रुव पटेल, जहुर आलमललगायत पनि सहभागी थिए। निर्माण व्यवसायी संघ रौतहटका अध्यक्ष दयाराम साह र बाराका अध्यक्ष सुरेन्द्र जयसवाल पनि साधारणसभामा सहभागी थिए।