उपचार खर्च तिर्न नसक्दा आमा बन्धक



राजविराज। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ की २६ वर्षीय ललितादेवी खंग दुई सातायता विराटनगरस्थित एक अस्पतालमा उपचार खर्च तिर्न नसक्दा बन्धक अवस्थामा छिन्। उनकी नवजात छोरी कडा कुपोषणले ग्रस्त भई राजविराजस्थित पोषण पुनस्र्थापना गृहमा उपचाररत छिन्।

सरकारले मातृ शिशु कार्यक्रम निःशुल्क बनाएको छ। तामझामका साथ मातृशिशु कार्यक्रमबारे राज्यले प्रचारप्रसार गरिरहेको अवस्था छ। प्रदेश सरकारले पनि छोरीलाई लक्षित गरी ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत बर्सेनि करोडौं खर्चिरहेको अवस्था छ। तर पनि एक आमा गरिबीका कारण अस्पतालको बन्धक बन्न बाध्य भएकी छन् भने उनकी नवजात छोरी कुपोषणका कारण जीवनमृत्युको दोधारमा छिन्।

सुत्केरी गराउँदा लागेको खर्च तिर्न नसक्दा १५ दिन यता ललिता विराटनगरस्थित विराटनगर अस्पताल प्रालिमा बन्धक छिन्। उनका पति गोपी नवजात छोरीलाई लिएर शनिबार सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल हातामा सञ्चालित पोषण पुनः स्थापना गृहमा पुगेका छन्।

गृहकी प्रमुख रेशमी झाले आमाको दूध खान नपाउँदा शिशुलाई कुपोषण भएको बताइन्। ‘शिशुको शरीरमा मासु कम र हाड बढी देखिएको छ, यो कडा खालको कुपोषण हो’, उनले भनिन्, ‘प्रारम्भिक उपचारपछि शिशुलाई तत्कालै आमानिर पु¥याएर उनको दूध खुवाउन सल्लाह दिएका छौं।’ यो समाचार नागरिक दैनिकले छापेको छ।