सिन्धुपाल्चोक दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १५ पुग्यो



काठमाडौँ। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ७ को ६ किलोमा आइतबार बिहान भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या १५ पुगेको छ।

दोलखाको कालिन्चोक मन्दिर दर्शन गरेर काठमाडौं फर्केका यात्रु चढेको बा४ख ४४६८ नम्बरको रिजर्भ बस लामोसाँघु जिरी सडक खण्डको छ किलोमा सडकबाट ५ सय मिटर तल खसेको थियो। १५ जनाको मृत्यु भएको र १९ जना घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ९ महिला, ३ पुरुष, एक बालिका र दुई जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका ७ का २८ वर्षका सुकबहादुर तामाङ, ७ वर्षकी सविना तामाङ, १५ वर्षकी रोशनी तामाङ, २८ वर्षकी मञ्जु तामाङ, ३० वर्षकी रेशमा तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ४ कि ५५ वर्षकी गंगामाया लामा, बलेफी गाउँपालिका ७ कि ३५ वर्षकी फूलमाया तामाङ रहेका छन्।

त्यस्तै दोलखाको सैलुङ गाउँपालिका ६ का १० वर्षका रजित बस्नेत र ३२ वर्षकी चिनु बस्नेत, भीमेश्वर नगरपालिका ९ की ४२ वर्षकी लक्ष्मी श्रेष्ठ, रामेछापको उमाकुण्ड गाउँपालिका ४ का २४ वर्षका महेश तामाङ, काभ्रेको बेथान गाउँपालिका ५ का ३६ वर्षका रामशरण खत्री, ३५ वर्षकी मैयाँ केसीको पनि मृत्यु भएको छ। दुई जनाको भने नाम र ठेगाना नखुलेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइतेमध्ये १४ जनाको काठमाडौंको ह्याम्स अस्पताल, २ जनाको काठमाडौं मेडिकल कलेज, ३ जनाको धुलिखेल अस्पताल र एक जनाको सिन्धुपाल्चोक खाडीचौरको सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ।