पर्यटन वर्ष २०२० को पर्खाइमा उदयपुरगढी



उदयपुर। पर्यटन वर्ष २०२० को लागि छानिएको नेपालका सयवटा पर्यटकीय गन्तव्य मध्यको एक उदयपुरगढीको प्रचार–प्रसारका लागि स्थानीय युवाहरुबाट अभियान सुरु भएको छ।

उदयपुरगढी गाउँपालिकाका युवाहरुको आयोजनामा भएको निमन्त्रणा वितरण एवम दृस्यावलोकन अभियानमा २५ जनाको सहभागिता रहेको छ। सबै राजनीतिक दल र विभिन्न पेशामा संलग्न युवाहरुले स्वःतस्फूर्त रुपमा आफ्नै खर्च व्यवस्थापनमा १५ वटा मोटरसाइकलबाट उदयपुर जिल्लाका सबै स्थानीय तह र मुख्य मुख्य पर्यटकीय क्षेत्रहरुमा पुगी उदयपुरगढी आउन निमन्त्रणा गरेका छन्।

नेपालटार बजारबाट सुरु गरेका मोटरसाइकल यात्रीहरुलाई उदयपुरगढी वडा नं ५ का वडा अध्यक्ष कुमार अधिकारीले खादा र अविर लगाई बिदाइ गरेका थिए। कटारी नगरपालिका पुगेको टोलीलाई उपमेयर भिमकुमारी राउतले अविर लगाएर स्वागत गरेकी थिइन।

सबै सहभागीहरुको तर्फबाट स्थनीय राजनीतिज्ञ बोधकुमार घिमिरेले डा. सोम प्रसाद खतिवडा द्वारा लिखित ‘उदयपुरगढीको इतिहास र पर्यटन’ नामक पुस्तक र उदयपुरगढी गाउँपालिकाभित्रका केही पर्यटकीय क्षेत्रको नक्सा भएको ‘फ्लेक्स’ उपमेयरलाई हस्तान्तरण गरे।

भ्रमणटोली बेतिनी भन्ज्याङ, ओख्ले, ताप्ली पोखरी, कटहरे हुँदै वेलुकीको बास बस्न ताप्ली गाउँपालिकाको केन्द्र रुपाटार पुगेको टोलीलाई गाउँपालिकाको सभाकक्षमा उपाध्यक्ष कमलमाया राईले स्वागत गरेकी थिइन।

टोली लिमचुङबुङ गाउँपालिकामा पर्ने मगर होमस्टे डाँडागाउँ ताम्लिछा, माझखर्क, नामेटार हुँदै रौतामाई गाउँपालिकाको केन्द्र भुट्टार, जिल्ला समन्वय समिति गाईघाटका प्रमुख खड्ग परियारलाई पुस्तक र फ्लेक्स दिँदै उदयपुरगढीमा आउँन निमन्त्रणा दिएका थिए।

टोलीलाई त्रियुगा नगरपालिकाको सभाकक्षमा मेयर बलदेव चौधरीले खादा र अविरले स्वागत गरेका थिए। बेलका, मैनामैनीतर्फ बाराहाक्षेत्र हुँदै पुन नेपालटार आईपुगेको थियो। संयोजक बोधकुमार घिमिरे भन्छन्, ‘हामीले सबै स्थानीय तहमा उदयपुरगढीको बारे सक्दो जानकारी दियौँ र सम्पुर्ण उदयपुरगढी गापाबासि र गाउँपालिकाको तर्फबाट घुम्न आउन निमन्त्रणा गर्यौँ।

प्रदेशस्तरीय पर्यटक प्रर्वद्धन समितिको सदस्यको हैसियतले मैले पर्यटन वर्ष २०२०को तयारीको सम्बन्धमा जानकारी बटुलेर कसरी थप तयारी गर्ने विषयमा छलफल गरें। समग्रमा भ्रमण निकै रमाइलो र फलदायी भयो। सबै स्थानीय तहबाट राम्रो स्वागत सत्कार प्राप्त गर्यौँ।’

कार्यक्रममा बोध कुमार घिमिरे, दिपक रोकाहा, सिंहबहादुर आले (ज्ञानु), श्याम खत्री, सत्येन्द्र यादव, दुर्गा दाहाल, राजकुमार बस्नेत, निरकुमार खड्का, विशाल श्रेष्ठ, मेघ प्रसाद धमला, दिनेश धमला, रितेश मगर, रितराज गिरी, प्रकाश राई, बोधकुमार भण्डारी, होम बस्नेत, भाइचुङ शेर्पा, पुस्कर भण्डारी, अम्बर कार्की केसब, नबराज मगर, मंगल कृष्ण राइ, दुर्गा राई, होमबहादुर राई (मुना) डिकराज राई, जीवन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।