सेतो झोलामा गुप्तवास प्रतिवेदन, स्थायी कमिटीले पारित गर्ला ?



काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा स्थायी कमिटीको बैठक सुरू भएको छ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अहिले बैठक जारी छ। पार्टी विधानअनुसार स्थायी समिति बैठक तीन–तीन महिनामा बस्नुपर्ने भए पनि करिब एक वर्षपछि उक्त बैठक बसेको हो।

अध्यक्ष ‘प्रचण्ड’ले कार्यकारी अधिकार प्राप्त गरेसँगै पार्टीका गतिविधिहरुले पुन: गति पाएको हो। यसअघि पार्टीका हरेक निर्णय सचिवालयले मात्र गर्दै आएको थियो। गत मङ्सिर २३ मा बसेको नेकपा सचिवालयले २९ गतेका लागि स्थायी समिति बैठक गर्ने निर्णय गरेको थियो। स्थायी समितिअघि सचिवालय बैठक बसेर स्थायी समिति बैठकमा छलफलका लागि लैजाने एजेन्डा तय गरेको थियो।

अध्यक्ष प्रचण्डले शक्तिशाली पार्टीको कार्यकारी अध्यक्ष बनेपछि पहिलो पटक राजनीतिक प्रतिवेदन पेश गर्दैछन्। पूर्व माओवादीको अध्यक्षको जिम्मेवारी रहँदाको समय कालमा उनले प्रस्तुत गरेका हरेक प्रस्ताव पारित भएको देखिन्छ।

डाइनामिक नेताको रुपमा चिनिने प्रचण्डले गुप्तवासमा रहेर तयार पारेको पार्टीको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटी सदस्यहरूले धारणा राख्नेछन्। एकजना राजनीतिक विश्लेषकका अनुसार प्रचण्डको यो राजनीतिक प्रतिवेदनले उनको उचाई नाप्नेछ। साथै उनको चातुर्यता र ट्याल्यान्सिको समेत मापन हुनेछ।

प्रचण्ड पार्टी कार्यालय पुगेर गाडिबाट झर्दा सेता झोला बोकेका थिए। वरिष्ठ फोटो पत्रकार मुकुन्द कालिकोटेका अनुसार उक्त झोलामा प्रचण्डले राजनीतिक प्रतिबेदन बोकेको हुनुपर्छ।