धनुषा बम विस्फोट: नेकपा विप्लवका तीन जना नेताकार्यकर्ता पक्राउ



धनुषा। प्रहरी इन्सपेक्टरसहित ३ जनाको ज्यान जाने गरी भएको बम बिस्फोट घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रतिबन्धित नेेेकपा विप्लवका तीन स्थानीय नेता रहेका छन्।

दुई महिला सहित ३ जनालाई पक्राउ गरिएकोको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले जानकारी दिए।

पक्राउ पर्नेमा नेकपा विप्लवका प्रदेश नम्बर २ संयोजक ५१ वर्षिय सीतादेवि महरा, केन्द्रीय सदस्य ४१ वर्षिय ललिता महरा र रामसोभित गाहा रहेका छन्।

३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी कार्कीले बताए।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ स्थित इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटरको दुरीमा पर्ने राजेश साहको नवनिर्मित घरमा गएराति विस्फोट हुँदा साहसहित प्रहरी इन्सपेक्टर अमिरकुमार दाहाल र राजेश साहका छोरा आनन्द साहको मृत्यु भएको थियो। यस्तै अन्य ४ जना घाइते भएका छन्।