बाबुरामलाई ड्राइभिङ सिकाउने मेसो गर्नु पर्‍यो: नायिका थापा



काठमाडौँ। नायिका तथा सामाजिक अभियन्ता रेखा थापाले डा.बाबुराम भट्टराईलाई व्यङ्य गर्दै उनलाई ड्राइभिङ सिकाउने मेसो गर्नुपर्ने बताएकी छन्।

न्युज २४ बाट प्रसारण हुने कार्यक्रम ‘सिधाकुरा जनतासँग’का प्रस्तोता रवी लामिछानेले नेता उत्पादन गर्ने उद्देश्यले सुरु गरेकाे ‘द लिडर’ नामक ‘रियालिटी शो’ मा डा.भट्टराईको उपस्थिति देखेपछि नायिका थापाले यस्तो टिप्पणी गरेकी हुन्।

शनिबार सामाजिक सञ्जालमा नायिका थापाले डा. भट्टराईलाई पहिलो बनाउनका लागि उनलाई ड्राइभिङ सिकाउने मेसो झिक्नुपर्ने बताएकी हुन्। उनले लेखेकी छन्,‘बाबुराम भट्टराईलाई ड्राइभिङ सिकाउने मेसो गर्नु पर्‍यो। सधैं सहायक हुने आदत परेको छ।’

कक्षा र विश्वविद्यालयमा पहिलो बन्न सफल भट्टराई राजनीतिमा पहिलो बन्न नसकेको उल्लेख गर्दै नायिका थापाले अगाडि लेखेकी छन्, ‘यत्तिको बुद्दिभाका मान्छे आँफै पनि केही गरे हुने। नभए नेकपामा सम्मानित भएर बस्दा कसो हुँदो हो।’