सीमामा पर्खाल लगाउन सांसदको सुझाव



काठमाडौँ। शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सीमा समस्याबारे सांसदहरुले थरी थरीका सुझाव दिएका छन्।

सांसद अग्नि सापकोटाले संविधानमा भएको नक्सा नै त्रुटिपूर्ण रहेको भन्दै संविधान संशोधनको माग गरे। ‘संविधानमा भएको नक्सा नै त्रुटिपूर्ण छ। संविधान संशोधन गरेर नक्सा सच्याउने र कालापानीबाट भारतीय सेना हटाउने विषयलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्छ’ उनले भने ।

नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले सीमा समस्यालाई हल्का फुल्का रुपमा लिएको आरोप लगाए । सांसद सिंहले भने, ‘सरकारले कुटनीतिक र राजनीतिक प्रयास गरेको छ? केही काम गरेको छ ? ठाइहाल्यो अब भइहाल्छ भनेर हल्का फूल्का रुपमा लिइरहेको छ।’

अर्का सांसद मोहन बानियाँले सीमामा पर्खाल लगाउन सरकारलाई सुझाव दिए। ‘कि छिमेकी सुध्रन पर्‍यो होइन भने सरकारले सीमामा पर्खाल लगाउनुपर्‍यो’ उनले भने।

सांसद उमादेवी रेग्मीले कहिले सचिवस्तरीय वार्ता गर्ने भनेर पन्छाइदिने, कहिले के भनेर पन्छाइदिने ? काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गरिन्। ‘यति धेरै म्यान्डेट पाउँदा पनि सरकार किन खुट्टा कमाइरहेको छ ? उनले प्रश्न गरिन्। बैठकमा साँसद भीम रावल, सरीता गिरी, अग्नि सापकोटालगायतको सीमा विवादको विषयमा चर्काचर्की परेको थियो।