झापा। सत्तारूढ नेकपा निकट अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले सरकारले हालै जारी गरेको ‘राष्ट्रिय शिक्षा नीति-२०७६’ निजीकरणलाई पोस्ने ढंगले आएको आरोप लगाएका छन्।
तामाङले संविधानको प्रावधान विपरित निजी शिक्षालाई प्रश्रय दिने गरी सरकारले नयाँ शिक्षा नीति जारी गरेको टिप्पणी गरेका हुन्। तामाङले भने ‘नेपालको संविधानमा कक्षा १२ सम्मको शिक्षा निशुल्क हुने किटानी गरेको छ। तर यो शिक्षा नीतिले निजी विद्यालयलाई प्रोत्साहन गर्ने काम गरेको छ।’
सरकारले हालै जारी गरेको राष्ट्रिय शिक्षा नीति, २०७६ मा माध्यमिक शिक्षामा सरकार, निजी क्षेत्र र सहकारी समेतको सहभागितामा प्रभावकारी ब्यवस्थापन गर्ने प्रावधनमा तामाङले आपत्ति जनाएका हुन्। यसले विद्यालय शिक्षामा निजीकरणलाई प्रश्रय दिने तामाङको ठहर छ।
शुक्रबार झापाको सुरुङ्गामा आयोजित सहिद लक्ष्मी पाण्डेको स्मृतिमा आयोजित कार्यक्रममा वोल्दै अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले संविधानमा ब्यवस्था ब्यवस्था गरिएको निशुल्क शिक्षाको कार्यान्वयनका लागि अवको विद्यार्थी आन्दोलन केन्द्रित हुने बताए। कार्यक्रममा संघीय सांसद एलपि सांवा,प्रदेश सांसद हिरा थापा, नेकपा युवा नेता शिव ढुङेलले सहिदको सपना भुल्न नहुने बताए।