हिमालमा हिमपात, पहाडमा झरी र तराईंमा शितलहरको मनपरी



काठमाडौँ। देशको पश्चिमी भेगबाट प्रवेश गरेको नयाँ मौसमी प्रणालीले देशका हिमाली भेगमा भारी हिमपात भएको छ। त्यस्तै पहाडी तथा तराई क्षेत्र वर्षा र शीतलहरको असर छ।

बुधबार रातिबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार बिहानैदेखि हिमाली भेगमा हिमपात तथा तराई र पहाडका क्षेत्रमा वर्षा र शीतलहर सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हुम्लासहित कर्णालीका उच्च हिमाली भाग, मुस्ताङलगायतका क्षेत्रमा शुक्रबार बिहानैदेखि भारी हिमपात भइरहेका छन्। मुस्ताङको न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियम झरेको छ। तापक्रम घटेपछि यहाँका खोला तथा ताल जमेका छन् भने जनजीवन प्रभावित भएको छ।

राष्ट्रिय समाचार समिति (रासस) का अनुसार, हिमपातले डोटी, डोल्पालगायत क्षेत्रको जनजीवन पनि प्रभावित भएका छन्। पश्चिमी उच्च पहाडीसहित हिमाली भू–भागमा भारी हिमपात भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैमा अनुरोध गरेको छ।

विभागका अनुसार, हिमपातको यो सिलसिला मंसिर २९ गतेसम्म जारी रहनेछ। त्यस्तै तराईका भाग भने शीतलहर र तुवालोको चपेटामा परेका छन्। तवालो लागेपछि तराईका कतिपय जिल्लाको हवाई उडान प्रभावित भएका छन्।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ र अधिकतम तापक्रम १६ दशमलव २ डिग्री सेल्सियस रहेको छ।मौसममा विकास भएको नयाँ प्रणाली शनिबारसम्म जारी रहने छ। शनिबारपछि भने विस्तारै मौसममा सुधार आउने मौसमविद्को अनुमान छ