दस्ताबेज बनाउन ‘प्रचण्ड’ एकान्तवास


काठमाडौँ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो आइतबार सुरु हुने स्थायी समिति बैठकमा पेस गर्ने कार्ययोजनासहितको राजनीतिक दस्ताबेज तयारीमा जुटेका छन्।

पहिलो पटक कार्यकारी अध्यक्षको हैसियतमा पार्टीमा राजनीतिक दस्ताबेज पेस गर्ने तयारीमा रहेका उनले प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओली र नेकपा सचिवालय सदस्य तथा केही स्थायी समिति सदस्यसँग छुट्टाछुट्टै छलफल गरेका छन्।

शीर्ष नेताबीचकै विवाद नमिल्दा प्रत्येक तीन महिनामा बस्ने भनिए पनि एक वर्षदेखि नेकपाको स्थायी समिति बैठक टर्दै आएको थियो । दुई अध्यक्षबीच पार्टी र सरकार सञ्चालनबारे कार्यविभाजन भएपछि स्थायी समिति बैठक बस्न लागेको हो। दाहाललाई स्पष्ट काम र समयतालिकासहितको ६ महिने कार्ययोजना ल्याउन गत मंसिर २३ को सचिवालय बैठकले निर्देशन दिएको थियो।

त्यसपछि दाहालले सबै सचिवालय सदस्य र प्रधानमन्त्रीसँग छुट्टाछुट्टै परामर्श गरेपछि प्रतिवेदन लेख्न थालेका हुन् । ‘उहाँ (दाहाल) बिहानैदेखि भेटघाट बन्द गरेर कार्ययोजना लेखनमा व्यस्त हुनुहुन्छ,’ दाहाल सचिवालयका एक सदस्यले भने, ‘दुइटा विषयको प्रस्ताव तयार भइसकेको छ।’ शुक्रबार साँझसम्म कार्ययोजना तयार पार्ने लक्ष्य रहेको पनि उनले सुनाए। कान्तिपुर दैनिकले यो समाचार प्रकाशित गरेको छ।