कतार एयरवेज ‘ए डिभिजन लिग’ मंसिर २८ गते दशरथ रंगशालामा



काठमाडौँ। नेपालको प्रसिद्ध एवं ठूलो फुटवल प्रतियोगिता ‘सहिद स्मारक ‘ए डिभिजनलिग’ का लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार कतार एयरवेजसँग ऐतिहासिक सम्झौता गरेको छ।

उक्त सम्झौताअनुसार कतार एयरवेजले एन्फालाई यस सिजनमा प्रायोजनवापत १ लाख ५० हजार डलर आर्थिक सहयोग गर्ने छ। लिग यहि मंसिर २८ गते शनिबार दशरथ रंगशालामा सुरु हुनेछ।

कतार एयरवेजले पहिलो किस्तामा ९० हजार र दोस्रो किस्तामा ६० हजार डलर एन्फालाई उपलब्ध गराउने जनाएकाे छ। एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र नेपालका लागि कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद अल इमामले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरे का थिए। त्यसअनुरुप सहिद स्मारक लिगको नाम अगाडि कतार एयरवेज थपिने छ।

‘अन्तर्राष्ट्रिय ब्रान्डलाई प्रमुख प्रायोजक बनाउन पाउँदा हामी निकै खुसी छौं,’ एन्फा अध्यक्ष शेर्पाले पत्रकार सम्मेलनमा भने, ‘यस सम्झौताले कतार फुटबल महासंघसँगको हाम्रो सम्बन्ध पनि बढाउने छ।’एन्फाले पहिलोपल्ट अन्तर्राष्ट्रिय ब्रान्डलाई भित्र्याएको जनाएको छ । तर २०५२ सालको लिगमै मालब्रोले प्रमुख प्रायोजन गरेको थियो।

मनाङ मर्स्याङ्दी, संकटा, थ्रीस्टार, नेपाल पुलिस, नेपाल एपीएफ, त्रिभुवन आर्मी, जावलाखेल युथ, फ्रेन्ड्स क्लब, मछिन्द्र क्लब, च्यासल युवा, न्युरोड टिम, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले लिगमा प्रतिस्पर्धा गर्नेछन् । लिग विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने छ । त्यस्तै दोस्रोदेखि छैटौं स्थानमा रहनेले क्रमशस् ३५, २५, १५, ७ र ५ लाख पाउनेछन्।

६ करोड ३० लाख बजेट रहेको लिगमा सहभागी टोलीलाई तयारीवापत जनही २० लाख दिइने जनाइएको छ । उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्डर र स्ट्राइकर तथा प्रशिक्षकले जनही १ लाख ५० हजार पाउनेछन्। प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने छन् । हरेक खेल जित्ने टोलीलाई ५० हजार र बराबरी खेल्ने टोलीलाई समान १५ हजार प्रदान गरिनेछ। लिगमा कुल ९१ खेल हुनेछ। पुछारमा रहने टोली रेलिगेसनमा पर्नेछन् । एउटा टोलीले लिगमा १३ खेल खेल्नुपर्नेछ।

दशरथ रंगशालामा ५ वर्षपछि लिग हुन लागेको हो। भूकम्पले दशरथ रंगशाला खेल्न नसक्ने बनाएपछि लिग यहाँ हुन सकेको थिएन। मंगलबार सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदका लागि दशरथ रंगशालाको पुनर्निर्माण कार्य सकाएपछि लिग नेपालको मुख्य फुटबल खेलस्थलमा फर्किएको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा पनि लिगका खेल हुनेछन्।

तस्बिर: मुकुन्द कालिकोटे