यौन शोषण आरोपित एसएसपी राणामाथि छानबिन सुरू


काठमाडौँ। आफ्नै कर्मचारीलाई यौन शोषण गरेको र अर्की महिलालाई धम्काएको उजुरीमा प्रहरी प्रधान कार्यालयले संघीय प्रहरी कार्यालय धरानमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभशमशेर राणामाथि छानबिन सुरु गरेको छ।

गृह मन्त्रालयको पत्राचारका आधारमा उनीमाथि छानबिन सुरु भएको हो।आफ्नो घरबार बिगारेको र मार्ने धम्की दिएको भन्दै महिलाले राणाविरुद्ध २७ कात्तिकमा गृह मन्त्रालयमा उजुरी दिएकी थिइन्।

राणा इटहरीमा ट्राफिक प्रहरी प्रमुख हुँदादेखि चिनजान भएको र पछि विवाद भएपछि गोली हानेर मारिदिने भनेर धम्की दिएको उजुरीमा उल्लेख छ।

उजुरी परेपछि गृहले गोप्य रूपमा छानबिन गरेको थियो। छानबिनका क्रममा एसएसपी राणा काममा भन्दा पार्टीमा रमाइलो गर्ने र सुनसरी क्षेत्रका खराब मान्छेसँग संगत रहेको पाइएपछि थप छानबिन गरेर कारबाही गर्न मुख्यालयलाई पत्राचार गरेको थियो।

गृहको छानबिनका क्रममा एसपी हुँदादेखि नै उनले असइ प्रमोद पसेला यादवलाई परिचालन गरी पैसा उठाउने गरेकोसमेत औँल्याइएको छ। प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलले एसएसपीमाथि छानबिन गर्न गृहबाट पत्र आएको र उजुरी छानबिन शाखाले थप छानबिन अघि बढाएको बताए।