पाँच हजार शिक्षकको स्थानीय तह परिवर्तन हुँदै



काठमाडौँ। देशभरका एक सय २३ स्थानीय तहबाट चार हजार आठ सय ५२ शिक्षक दरबन्दी तथा राहत अनुदान कोटा अन्य स्थानीय तहमा हस्तान्तरण हुने भएको छ ।

कतै शिक्षकको अभाव र कतै आवश्यकताभन्दा बढी भएपछि सरकारको निर्णयअनुसार दरबन्दी तथा अनुदान कोटा अन्य जिल्लाका स्थानीय तहमा हस्तान्तरण गर्न लागिएको हो।

सम्बन्धित जिल्लाका स्थानीय तहमा मात्र होइन, फरक जिल्लाका स्थानीय तहमा समेत दरबन्दी तथा राहत कोटा हस्तान्तरण हुने शिक्षा मन्त्रालय स्रोतले जनाएको छ। १४ जिल्लाका तीन हजार तीन सय ५९ शिक्षक दरबन्दी तथा राहत अन्य जिल्लाका स्थानीय तहमा हस्तान्तरण हुनेछ ।

१५ जिल्लाभित्र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा एक हजार चार सय ९३ दरबन्दी तथा राहत कोटा मिलान हुने शिक्षामन्त्री गिरीराजमणि पोखरेलले जानकारी दिए ।

शिक्षकको अन्तरप्रदेशसमेत मिलान हुने उनको भनाइ छ। ‘एक सय पाँच दरबन्दी तथा राहत अनुदान कोटा एक प्रदेशबाट अर्को प्रदेशको स्थानीय तहमा हस्तान्तरण हुनेछ,’ मन्त्री पोखरेलले भने। याे समाचार नयाँ पत्रिकामा छ।