म्याद सकिएपछि पुलनिर्माण गरिँदै


विश्वनाथ सिम्खाडा

कालिकोट। म्याद सकिएपछि पनि कर्णाली राजमार्गमा निर्माणधिन पुलहरु द्रुतगतिमा निर्माण कार्य भइरहेका छन्।

म्याद सकिएको लामो समय भइसक्दा पनि समयमै पुलनिर्माण हुन नसक्दा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीले माघ महिनासम्म निर्माण सम्पन्न गर्न ताकेता लगाएपछि राजमार्गका पुलहरुको निर्माण कार्य रातारात द्रुत गतिमा अगाडी बढेको हो।

कर्णाली राजमार्गको सुर्खेतदेखि दैलेख, कालिकोट हँदै जुम्लासम्मका १५ वटा पक्की पुलहरु ठेकेदारको ढिलासुस्तीका कारण निर्माण सम्पन्न हुन नसकेका पुलहरु ताकेदा गर्दा निर्माण कार्य द्रुुत गतिमा भइरहेका छन्।

कर्णाली राजमार्गमा सबैभन्दा बढी १५ पुल निर्माणको जिम्मा रसुवा इलाइटरसूर्य जेभीले लिएको छ । उसले पहिलो प्याकेजअन्तर्गत लोहाखोला, रतिखोला, छेडाखोला, माटेखोला, लाम्चुडीखोला, पातलेखोला र छेडाखोलाको निर्माण जिम्मा लिएको छ । दोस्रो प्याकेजअन्तर्गत कुवाखोला, कालेखोला, पाल्तडाखोला, कानेघाटखोला, गुइयाघाटखोला र दहीखोला तथा तेस्रो प्याकेजअन्तर्गत नाग्म–सिँजाखोला र छेदनाखोला पुलको निर्माण जिम्मा लिएको छ ।

यीमध्ये ५ पुलको निर्माण अन्तिम चरणमा पुगेको कम्पनीका प्रतिनिधि दीपक खड्काले बताए । उनका अनुसार, डिजाइनमा देखिएको समस्याका कारण रतिखोला पुल तीनपटक र लोवाखोला पुल दुईपटक ‘रि–डिजाइन’ गर्नु परेको छ । विश्व बैंकको सहयोगमा बन्ने १५ पुलको लागत करिब ५८ करोड रुपैयाँ छ । तीनवटै प्याकेजका पुलको सम्झौता अवधि सकिइसकेको छ । अहिले तिन महिना भित्र पुल निर्माण सम्पन्न गर्ने बताए । म्याद सकिसकेको छ, तिन महिना थप गरेको छ।