लयमा फर्कियो कोहलपुर, डीएसपी शाहीको सरूवा



दिपेन्द्र हमाल,

बाँके। जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा लगाइएको निषेधाज्ञा हटाएको छ।

गत आइतबार ट्रकको ठक्करबाट कोहलपुर स्थित श्री त्रिभुबन उच्च माबि कोहलपुरमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएपछि चर्किएको आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा लगाइएको निषेधाज्ञा मंगलबार पूर्ण रुपमा हटाइएको हो।

उक्त दुर्घटनापछि उत्पन्न तनावग्रस्त स्थितिलाई नियन्त्रण गर्न भन्दै बाँके प्रशासनले निषेधाज्ञा जारी गरेको थियो। जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार २२ गतेदेखि पूर्वमा चप्परगौंडी, पश्चिममा किरण नाला, उत्तरमा नौबस्ता र दक्षिणमा पिपिरीसम्म अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको थियो।

यसैबीच, इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएका छन्। जिल्लामा कार्यरत डीएसपी शिवबहादुर सिंहलाई अहिले कोहलपुरमा पठाइएको छ। यसअघि तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई खसी मागेको अडियो सार्वजनिक भएपछि डीएसपी शाही विवादमा मुछिएका थिए।