दशरथ रंगशालामा दर्शक र पत्रकारमाथि प्रहरीको लाठी चार्ज



काठमाडौँ। राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेका फुटबल समर्थक तथा दर्शकमाथि प्रहरीले लाठी चार्ज गरेको छ। आज मंगलबार १३औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल भीड्दैछन्।

फुटबल म्याचपछि सागको समापन समारोह राखिएको छ। उक्त रोचक र महत्वपूर्ण गेम हेर्नका लागि टिकट खोज्दै समर्थकहरू रंगशाला पुगेका थिए।

तर, सबै टिकट विक्री भइसकेको थियो। उनीहरुलाई हटाउने नाममा प्रहरीले एक समर्थकमाथि लाठी वर्षाएको छ। यतिसम्म कि प्रहरीले एक जनालाई घेरा हालेर कुटेको थियो।

कुटपिटको फोटो खिचेको भन्दै पत्रकारहरुलाई समेत दुर्व्यवहार गरेको छ। नागरिक दैनिकका पत्रकार सुमन चापागाईंलाई प्रहरीले दुर्व्यवहार गरेको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने बल प्रयोग नगरिएको दाबी गरेका छन्।