सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकास र समृद्धि अन्तर्राष्ट्रिय लगानीमा निर्भर रहेको इंकित गरेका छन्। सोमबार वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेश सरकार र नेपालस्थित अन्तर्राष्ट्रिय विकास साझेदारहरूको बैठकमा मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन्।
कर्णालीका नागरिकको तीव्र विकास, गरिबीको अन्त्य र सुशासनको प्रत्याभूतिको चाहना पूरा गर्न अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री शाहीको भनाई छ।
कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीको गरिबीको अन्त्य, उत्पादनको वृद्धि, पर्यटकीय क्षेत्रको विकास, उर्जा तथा भौतिक पूर्वाधार विकासका क्षेत्रमा एकीकृत रुपमा लगानी गर्न अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरुलाई आग्रहसमेत गरेका थिए।
संघीय व्यवस्था कार्यान्वयनको प्रारम्भिक चरणमा रहेको बताउँदै मुख्यमन्त्री शाहीले कानून निर्माण, प्रशासनिक संरचनाको स्थापनालगायतका व्यवस्थापकीय काम नटुंगेका कारण जनअपेक्षा पूरा हुन नसकेको स्वीकार गरे।
कार्यक्रममा वेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग डीएफआईडीकी नेपाल प्रमुख लिसा हननले अन्तर्राष्ट्रिय साझेदार सँस्थाहरुले एकीकृत रुपमा प्रदेश तथा स्थानीय सरकार सहयोग (पीएलजीएसपी) कार्यक्रम सञ्चालनका लागि संघीय सरकारसँग सम्झौता गरिसकेको जानकारी दिइन्।
बैकमा प्रदेश सरकारका मन्त्रीहरु, सचिवहरु, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरु डीएफआईडी, विश्व बैंक, यूसएड, यूएनडीपी, युरोपेली युनियन र नर्वेजियन दूतावासका प्रतिनिधिहरुको सहभागि थिए।