सुदूरपश्चिमकी छोरी गौरिकाले दिलाइन चार स्वर्णसहित ९ पदक



काठमाडौँ। जलपरी गौरिका सिंहले सोमबार आफ्नो अन्तिम व्यक्तिगत इभेन्ट प्रतिस्पर्धामा पनि नेपाललाई स्वर्ण दिलाएकी छन्।

सिंहले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ४ वटा स्वर्ण पदक जितेकी छन्।

उनले एउटै सागमा चार स्वर्ण जित्ने खेलाडीको कीर्तिमान बनाएकी छन्। जारी १३ औं सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र २ कास्य पदक जितेकी छन्।

को हुन् गौरिका ?

तीन बर्ष अगाडी ब्राजीलमा भएको रियो ओलम्पिकमा नेपालबाट सात जना खेलाडीले सहभागीता जनाएकोमा सर्वत्र चर्चामा रहेकी थिईन् गौरिका। कारण थियो रियो ओलम्पिकमा उनी सबैभन्दा कान्छि खेलाडी थिईनन्। उनी डाक्टर पारस सिंह र गरिमा राणाकी सुपुत्री हुन्।

पुख्र्यौली घर सुदूरपश्चिमकाे बझाङ भए पनि उनको परिवार दशकौँदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ भगतपुर बस्दै आएको छ। पछिल्लो समय परिवारसंगै लण्डन बस्दै आएकी गौरिका अहिले नेपालका लागि ‘किर्तिमानी जलपरी’ भएकी छिन्।

गौरिकाले बिहीबार पनि पौडीको दुई सय मिटर सिंगल इभेन्टमा नेपाललाई ऐतिहासिक स्वर्ण दिलाएकी थिइन्। आठौं राष्ट्रिय खेलकुदको पौडी प्रतियोगितामा हुँदा उनी १६ बर्षकी थिईन्। उनले एउटै प्रतियोगितामा १२ वटा स्वर्ण जित्दै थुप्रै किर्तीमान बनाएपछि त उनको चर्चा झनै चुलिएको थियो।

एकै संस्करणमा ४ स्वर्ण

गौरिकाले यस पटक ४ स्वर्ण जितिन्। हरेक स्वर्णको आफ्नै कीर्तिमान छ। पौडीको पहिलो दिन गौरिकाले २०० मिटर फ्री स्टायलमा स्वर्ण जितिन्। यो नेपाली खेलाडीले सागमा पौडीतर्फ जितेको पहिलो व्यक्तिगत स्वर्ण थियो। यसअघि सन् १९९९ मा नेपालले महिला रिलेमा स्वर्ण जितेको थियो।

गौरिकाले २०० मिटर ब्याकस्ट्रोकमा दोस्रो दिन स्वर्ण जितिन्। यो एउटै सागमा उनले जितेको दोस्रो स्वर्ण थियो। १३औं सागमै करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोका आयशा शाक्यले २—२ स्वर्ण जिते। तर मन्डेकाजी र आयशाले एक स्वर्ण व्यक्तिगत र अर्को टिममा जितेका थिए। गौरिकाले पहिलो र दोस्रो स्वर्ण एकलमा जितेकी थिइन्।

यस्तै उनले ४०० मिटर फ्री स्टायलमा आइतबार स्वर्ण जित्दै अर्को कीर्तिमान बनाइन्। लेजेण्ड्री म्याराथन धावन बैकुण्ड मान्नधर र तेक्वान्दोकै आयशा शाक्यको ३ स्वर्णको कीर्तिमान गौरिकाले बराबरी गरिन्। साथै एकै सागमा ३ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाइन्।

पौडीको अन्तिम दिन सोमबार १०० मिटर फ्री स्टायलमा स्वर्ण जित्दै गौरिकाले अर्को कीर्तिमान बनाइन्। १३औँ सागमा ४ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनिन्।

साथै सागमा ४ स्वर्ण जित्ने कीर्तिमानी खेलाडी दीपक विष्टको कीर्तिमान बराबरी गरिन्। नेपालका लागि सागमा ४(४ स्वर्ण जित्नेमा अब दिपकसंगै गौरिकाको नाम आउँछ।

तर दुवैको सफलता भने केही फरक छ। दिपकले ११ वर्षमा चार संस्करण लगातार खेल्दै लगातार स्वर्ण जितेका थिए, जन आफैँमा एउटा अभुतपूर्ण सफलता हो। उनले सन् १९९९ मा नेपालमै भएको आठौं सागमा पहिलो स्वर्ण जितेका थिए। यस्तै २००४ को नवौँ साग २००६ को दशौँ साग र २०१० को ११औं सागमा लगातार स्वर्ण जितेका थिए।

गौरिकाले भने धेरै इभेन्ट खेल्ने पाउने फाइदा उठाइन्। उनले यस पटक ९ इभेन्टमा प्रतिस्पर्धा गर्दा ४ इभन्टमै स्वर्ण जितिन्। यसले पनि गौरिकालाई एकै संस्करणमा धेरै स्वर्ण जित्न सहयोग पुग्यो।