एक दर्जन कलाकारले गाए राजनीतिक दललाई ब्युझाउँने गीत



काठमाडौँ। सरकार र राजनीतिक दलले देश र जनताको भविष्यमाथि खेलवाड गरेको भन्दै कलाकारहरूले एकपछि अर्को गर्दै सचेतनाको गीतहरु बजारमा पठाइरहेका छन्। केही सयम पहिले लोकप्रिय गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट’ बोलको गीतमा बजारमा पठाएर तरंग पैदा गरेका थिए।

त्यसपछि धेरै गायकहरूले खबरदारीका गीतहरू बजारमा ल्याए। यसैक्रममा सोमबार ‘कहिले आउँछ पालो सरकार?’ बोलको गीत बजारमा आएको छ। उक्त गीतको अविरल बीसीको शब्दमा रहेको गीतको लय खेम सेञ्जुरीले निमार्ण गरेका छन्। गीतको म्युजिक भिडियो निर्देशन विनोद भण्डारीले गरेका हुन्।

गीतमा नरेश खाती, भागिरथ चलाउने, जानकी तारामी मगर, सम्झना भण्डारी, म्याक्सम खातीलगायत करिब एक दर्जन कलाकारहरूको जोडदार आवाज रहेको छ।

भिडियोमा सरकारका बेथितिको पर्दाफास गर्दै जनताका समस्या र पीडालाई उजागर गरिएको छ। गीतमा सीमा अतिक्रमण, सुन तस्करी, महंगी, हत्या, हिंसा, बलात्कार, अपराध हुँदासमेत सरकारको निकम्मापनलाई देखाउन खोजिएको छ।

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठेकेदारलाई घरबेटी बनाएर ठेक्का अलपत्र पारेको गीतमा उल्लेख छ। सत्ता बाहिर हुँदा चर्का कुरा गर्ने र सरकारमा पुगेपछि सबै बिर्सिने प्रचण्ड र ओलीको प्रवृत्तिलाई गीतमा उतारिएको छ। त्यस्तै प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम सुन वाइडबडीकाण्डमा मुछिएपछि चुप लागेको गीतमा स्मरण गराइएको छ।

गीतमा समावेश शब्द

कहिले विवाद अन्त्य हुन्छ कालापानी सुस्ता
अझै कति दुःख पाउने हाम्रा भावी पुस्ता

सत्ताबाहिर हुँदासम्म चर्को लाउँछन् नारा
सरकारमा पुगेपछि देखाइ दिन्छन् पारा

चिन्ता लाग्न थाल्यो
लुटिएको कालापानी सीमा फिर्ता हुने
कहिले आउँछ पालो कहिले आउँछ पालो

कर्णालीमा औषधि छैन कहिले पुग्छ त्यता
करोडौंका गाडी चढ्छन् हाम्रो देशका नेता

विदेशका नेताहरू साइकलमा हिँड्छन्
हाम्रो भने जनतालाई सास्ती मात्र दिन्छन्

चिन्ता लाग्न थाल्यो
लोकतन्त्र आउँदा पनि जनता मालिक बन्ने
कहिले आउँछ पालो कहिले आउँछ पालो

विस्तारवादी भारतले सीमा मिच्दै हिँड्छ
बोल्ने होइन भन्दै उल्टै हाम्लाई धम्की दिन्छ
बोलेको त चामल होइन, पिठो पनि बिक्छ
राष्ट्रवादको खोक्रो नारा कहिलेसम्म टिक्छ

चिन्ता लाग्न थाल्यो
पूर्वपश्चिम रेल गुड्ने आफ्नै देशको पेट्रोल हाल्ने
कहिले आउँछ पालो कहिले आउँछ पालो

जहाजकाण्ड बाहिर आउँदा कांग्रेस पनि कस्सिया
आफ्नो दलको नाम जोडे’सी चुप लागेर बस्यो
आलोचना गर्न पाए यति नाच्ने होइन
आफू सत्तामा पुगेपछि सिन्को भाँच्ने होइन

चिन्ता लाग्न थाल्यो
सुशासनलाई कायम गरी सानाठूला सामान बन्ने
कहिले आउँछ पालो कहिले आउँछ पालो

खेती गर्ने जमिनमा तितेपाति फुले
देश बनाउने युवाहरू खाडीतिर भुले
कलकारखाना खोल्ने होइन रोजगार दिन्छु भन्छ
सुखी नेपाली समृद्धि नेपाल भन क्यारी बन्छ

चिन्ता लाग्न थाल्यो
युवाहरू घर फर्किने आफ्नै देशमा काम गर्ने
कहिले आउँछ पालो कहिले आउँछ पालो

जग्गा काण्ड कहाँ पुग्यो सुनकाण्ड के भयो
त्यत्रो ३३ किलो सुन भन कहाँ कहाँ गयो
ठूला माछा खोलातिर साना माछा जालमा
कारवाही गर्छु भन्दै हिँड्छौं त्यसै हावा तालमा

चिन्ता लाग्न थाल्यो
सत्यतथ्य छानबिन गरी भ्रष्टाचारी जेलमा जाने
कहिले आउँछ पालो कहिले आउँछ पालो

अपराधीलाई कारवाही होइन गर्छन् पक्षपोषण
नारी नेतृ भा’को देशमा नारीमाथि शोषण
हाम्री नारी असुरक्षित हुन्छन् यहाँ किन
निर्मलाले न्याय पाउने कहिले आउँछ दिन

चिन्ता लाग्न थाल्यो
महिला हिंसा अन्त्य हुने बलात्कारीलाई फाँसी हुने
कहिले आउँछ पालो कहिले आउँछ पालो

द्वन्द्व पीडित न्याय माग्दै कति दिन धाउने
कठै बरा तिनका दिन अब कहिले आउने
तिनकै आँडमा लोकतन्त्र गणतन्त्र आयो
तिम्ले पायौं सुख सयल जनताले के पायो

चिन्ता लाग्न थाल्यो
कामी दाइले मुक्ति पाउने, दमाई दाईले सम्मान पाउने
कहिले आउँछ पालो कहिले आउँछ पालो

एउटा ठेकेदार घरबेटी अर्को ठेकेदार नेता
पावर पैसा भएपछि कसले हेर्छ त्यता
राजनीतिको आडमा बसी लिन्छ ठेक्कापट्टा
अलपत्रै पार्दै हिँड्छन् बनाउनुको सट्टा

चिन्ता लाग्न थाल्यो
बाटोघाटो मर्मत गरे धुलोधुवा अन्त्य हुने
कहिले आउँछ पालो कहिले आउँछ पालो

जनताको ढाँड सेकिने लगाउँछन् कर
एनसेलबाट कर उठाउन तिनलाई केको डर
जताबाट भएपनि जनतालाई हो दुःख
सबैकुरा महंगियो कहिले पाउँलान् सुख

चिन्ता लाग्न थाल्यो
जताततै भद्रगोल छ देश विकास हुने
कहिले आउँछ पालो कहिले आउँछ पालो।।।