अनावश्यक दमनमा उत्रेको प्रहरीमाथि कारबाही गर्न अनेरास्ववियूको माग



काठमाडौँ। सत्तारुढ नेकपाको भ्रातृ संठगन अनेरास्ववियूले आइतबार बाँकेको कोहलपुरमा स्कुले विद्यार्थीमाथि प्रहरी अनावश्यक दमनमा उत्रेको भन्दै छानविन गर्न माग गरेको छ।

आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्द गम्भीर घाइते भएकी थिइन्।

अनेरास्ववियूका प्रभावशाली नेता एवं संगठगनका सहसंयोजक रञ्जित तामाङले एक विज्ञप्ति जारी गरेर उक्त घटनामाथि प्रहरी प्रशासनले गैर जिम्मेवारीपूर्ण तरिकाले दमन गरेको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।

सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं १० मा मिति २०७६ मंसिर २२ गते भएको दुर्घटना, त्यसपछि विकसित घटनाक्रम र कलिला बालबालिकामाथि गरिएको निर्मम र अमानवीय प्रहरी दमन उपर हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। स्थानीय त्रिभुवन माध्यमिक विद्यालयको कक्षा सातमा अध्ययनरत छात्रा प्रकृति चन्द विद्यालय हातामा प्रवेश गर्नै लाग्दा अत्यन्तै लापरवाहीपुर्ण ढंगले हुईंकिएर आएको ना २ ख ९४५९ को ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएको छ। सर्वप्रथम त हाल राजधानीको बि एण्ड बि अस्पतालमा उपचारत बालिका चन्द र अन्य सबै घाइते बालबालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’

सुरक्षाको जिम्मा लिएको जिम्मेवार निकाय प्रहरीले उत्पन्न समस्यालाई संयमतापुर्वक सुल्झाउनको साटो उल्टै गोली चलाएको भन्दै अनेरास्ववियूले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

संगठनका सहसंयोजक तामाङद्वारा हस्ताक्षेरित विज्ञप्तिमा अगाडि भनिएको छ,‘विद्यालयको गेटै अगाडि आफ्नी सहपाठीलाई ट्रकले ठक्कर दिएपछि विद्यार्थीहरू आक्रोशित र मर्माहत हुनु स्वाभाविक छ। यद्यपि, आन्दोलित विद्यार्थीहरुलाई संयमता अपनाउन पनि अपिल गर्दछौं। तर सुरक्षाको जिम्मा लिएको जिम्मेवार निकायले उत्पन्न समस्यालाई संयमतापुर्वक सुल्झाउन लाग्नुको सट्टा उल्टो गोलीसमेत चलाएर आगोमा घ्यु थप्ने जस्तो अत्यन्तै गैर–जिम्मेवार र बहुलठ्ठीपुर्ण हर्कत गरेको छ। यसर्थ यस घटनाको उचित छानबीन गरि लापरवाही गर्ने सवारी चालकलाई हदैसम्मको कार्वाही गर्न, अनावश्यक र अमानवीय दमनमा उत्रने दोषी प्रहरीलाई हदैसम्मको कार्वाही गर्न, सम्पुर्ण घाइते विद्यार्थीको निशुल्क उपचार गर्न र पीडित बालबालिकाहरूलाई उचित परिपुरणको ब्यवस्था गर्न जोडदार माग गर्दछौं।’

त्यस्तै अनेरास्ववियूले वढ्दो सवारी दुर्घटना र चालकहरुको लापरवाहीलाई नियन्त्रण गर्दै आम रूपमा नागरिक सुरक्षाको प्रत्याभूति दिलाउन कानुनी प्रबन्धलाई थप सुदृढ गर्दै त्यसलाई कडाईपुर्वक कार्यान्वयन गर्न सरकार र सम्बद्ध पक्षसँग जोडदार माग गरेको छ।