‘पाँच वर्षे प्रधानमन्त्री हुँ भनेर घर र अस्पतालमा सुत्न मिल्छ?’



काठमाडौं। नेपाली काँग्रेसका नेता सुरेन्द्र पाण्डे राष्ट्रिय सभामा पार्टीका नेता पनि हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण देश अशक्त जस्तै भएको तर्क गरेका छन्। हालै पत्रकार ऋषि धमलासँग दिएको अन्तरवार्ताको संम्पादित अंशः

देशको प्रगति कता गएको छ ?

प्रधानमन्त्रीसँगै देशको प्रगति पनि सुतेको जस्तो छ, कतै चाइचुईँ छैन । साग खेलमा चाहीं खेलाडी भाइबहिनीहरुले प्रगति गरेको देखिएको छ, त्यसको लागि म उहाँहरुलाई वधाइ दिन चाहन्छु । राजनीतिमा खासै चलहपहल देखिएको छैन।

सत्तापक्षको कुरै छोडौं, प्रतिपक्षको पनि देखिएन नि?
सत्तापक्षको चहलपहल नभएपछि प्रतिपक्षको पनि हुँदैन । कतिपय अवस्थामा प्रतिपक्ष भर्सेस सत्तापक्ष हुन्छ । याक्सनमा मात्रै रियाक्सन हुन्छ, याक्सन नै नभएपछि कहाँबाट रियाक्सन गर्नु।

प्रधानमन्त्रीबाट याक्सन आउँछ त बेला–बेलामा ?

उहाँबाट अहिले याक्सन नआएर त हाम्रो रियाक्सन आएन। तैपनि अहिले भएका केघटनाका बारेमा हामीले प्रतिक्रियाहरु दिइरखेका छौं । तर, मुल्ुकको राजनीति र सरकारका क्रियाकलापहरु प्रधानमन्त्रीको स्वास्थ्यका कारण सिथिल भएको छ।

प्रधानमन्त्रीको दैनिक क्रियाकलापमा तलमाथि भएको छैन भनिएको छ नि ?

कर्मचारीले गएर फाइलहरु तयार भए हेर्ने, टिप्पणी उठाउने कामहरु भइराखेका होलान्। मुलुकलाई प्रभाव पार्ने दूरगामी योजनाहरु केही आएको छैन। जुन काम गर्नुपर्ने थियो, त्यो भएको छैन। कहिलेसम्म मुलुक यसरी चल्छ, त्यसबारे पनि प्रश्न उठाउने बेला भएको छ। अहिलेसम्म त हामीले पनि प्रधानमन्त्रीको स्वाथ्यलाभको कामना गरिरहेका छौं।

उहाँ त पाँच वर्षको बन्नुभएको प्रधानमन्त्री हो नि ?

‘म पाँच वर्षको प्रधानमन्त्री हुँ’ भनेर कहिले घरमा, कहिले अस्पतालमा सुतिरहन पाइँदैन नि। उहाँ अहिले असक्त हुनुहुन्छ होला। तर, मुलुक यसरी चल्छ कि चल्दैन, त्यसबारेमा सोच्नुपर्यो नि।

उहाँको म्यान्नेट त पाँच वर्षको लागि हो ?

म्यान्नेट त काम गर्नको लागि हो नि। प्रधानमन्त्रीसँगै अरु मन्त्रीहरु पनि टोलाएर बसिरहनुभएको छ। जे काम गर्न पनि हामी उहाँसँग सल्लाह गरेर गर्छौं भन्नेको लागि होइन यो सरकार।

त्यसोभए प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्न खोज्नुभएको हो?

अहिले नै बेला भएको छैन । मुलुकमा यही परिस्थिति रहिरह्यो भने सोच्नुपर्ने हुन्छ।

अहिलेको परिस्थितिमा प्रधानमन्त्रीले राम्रो काम गर्नुभएको छ भनेर कांग्रेसकै नेताहरुले भनिरहनुभएको छ नि ?

मैंले त खोइ त्यस्तो देखिँन। के के गर्नुभएछ ? सुन्न पाए हुन्थ्यो। नेपाल स्थिर सरकार नभएर काम गर्न पाइएन भन्ने नारा दिइयो। स्थिर सरकार पनि आयो। केपी ओलीको नेतृत्वमा सरकार बनेको आउने फागुनमा दुई वर्ष पुग्छ। यो बीचमा भएको एउटा त्यस्तो काम भन्नुस् जसले मुलुकमा दूरगामी प्रभाव भयो र एउटा त्यस्तो आयोजना देखाउनुस् जुन हिजोका दिन बन्न सकेको थिएन। अरुले कुरा उठाउँदा ‘दुई तिहाईको सरकारले गर्न नपाउने’ भन्नुहुन्छ बेलाबखत। गर्नुचाहीं के भयो ? बरु सुरु भएका कामहरु लथालिंग भएका छन्। यति बलियो सरकारले के अहिलेसम्म के ग¥यो ?

काम गर्न पहल भइरखेको छ भनिएको छ ?

पहल कसले गरेको थिएन र ? हिजो राजा महेन्द्र, वीरेन्द्रले पनि पहल गरेका थिए नि। पञ्चायतका प्रधानमन्त्रीदेखि सबैले पहल गरेकै हुन् नि, पहलै गरेको छैन भनेर कसले भनेको छ। म भ्रष्टाचार गर्छु, विकास गर्दिँन भनेर कुनै प्रधानमन्त्रीले भन्छन्। रोक्छु, पहल गर्छु त भन्छन् नि। पहल हो भने अहिले देखिएका बालुवाटार जग्गाकाण्डदेखि सुनकाण्डसम्ममा के गर्नुभयो त ? दोषीलाई कारबाही के भयो त ? कहिलेकाहीं १०(२० हजार घूस खाने सुब्बा, अधिकृतका कुरा आउँछन् अख्तियारले छानविन गर्यो रे भनेर। यत्रा ठूला–ठूला काण्ड घटाउनेलाई कारबाही के भयो त ?