२५ वर्षमुनिका युवालाई मदिरा सेवनमा प्रतिबन्ध



जुम्ला। जिल्लाको पातारासी गाउँपालिकाले २५ वर्ष तल उमेर समूहका युवालाई मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको छ। मदिराको सेवन तथा बिक्रीवितरणमा रोक लगाउनका लागि गाउँपालिका, महिला तथा बालबालिका शाखामार्फत गाउँमा गठन भएका महिला समूह, सहकारी र युवालाई सहभागी गराई सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

कुलतका कारण युवकयुवती गलत बाटामा लागेका कारण मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाइएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए। पढ्ने उमेरका युवा कुलतमा बढी फसेका कारण मदिरामा प्रतिबन्ध लगाइएको अध्यक्ष बोहोराको भनाइ छ।

पच्चीस वर्ष तलका युवाले मदिरा सेवन तथा बिक्रीवितरण गर्न नपाउने गाउँकार्यपालिकाको बैठकबाट निर्णय भएको हो। यदि कोही कसैले सार्वजनिकस्थलमा मदिरा सेवन गरी हल्ला वा बिक्री गरेको भेटिएमा हदैसम्म जरिवना र कानूनी उपचारका लागि सम्बन्धित निकायमा पहल गरिने अध्यक्ष बोहोराले बताए।